काठमाडौं-नेपालमा पटक पटक प्रधानमन्त्री पदमा पुगेर राज्य सत्ता र शक्तिको दुरुपयोग गरेर अकुत सम्पति आर्जन गरेका शेरवहादुर देउवा र उनकी पत्नी आरजू राणाका विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । अहिले हङकङमा रहेका अनुमान गरिएका देउवा दम्पतीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै जिल्ला अदालत काठमाडौं पुगेपछि त्यसका लागि अनुमति पाएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अधिकांश आरोपी पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गर्दै आएको छ ।
हाल सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेका पूर्वमन्त्री दिपक खड्का तथा व्यवसायी दिपक भट्ट र शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सीआईबीको टोलीले नै पक्राउ गरेर विभागलाई बुझाएको थियो ।
शंकरलालका छोेरा शुलभ अग्रवाल भने आइतबार आफैँ विभागमा हाजिर भएका थिए ।
चैत १३ मा बनेको बालेन शाह नेतृत्वको सरकारले सोही दिन पूर्वप्रधानमन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पहिलो चरणमा पूर्वमन्त्री दिपक खड्का र व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेका हुन् ।मन्त्री खड्का तथा भट्टसमेत देउवा श्रीमती आरजु राणा निकट हुन् । देउवा दम्पतीलाई नै पक्राउ गर्न अनुमति पाएपछि अब विभागले सीआईबीलाई नै पक्राउका लागि सहयोग माग्नेछ ।
सीआईबीले पक्राउ पुर्जी पाएपछि भने देउवा दम्पतीको खोजी गर्ने छ । सम्पत्ति शुद्धीकरणको कसुरमा आरोपीहरुलाई तत्काल पक्राउ गरिहाल्नुपर्ने अवस्था नहुन सक्छ ।
आरोपीहरुको सम्पत्तिको विवरण अनुसन्धान गरेर अन्तिम समयमा मुद्दा चलाउनुपर्ने अवस्था देखिए वा बयान लिएर पक्राउ नगरी मुद्दा दर्ता समेत गर्न सक्छ ।
अन्य प्रमाण नष्ट गर्न सक्ने फौजदारी कसुरको जस्तो तत्काल नै पक्राउ गरिहाल्नुपर्ने अवस्था नहुन सक्छ । तर हालसम्म सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो अभ्यास भने गरेको देखिँदैन । आरोपीहरुलाई पक्राउ गरेर नै अनुसन्धान थालेको छ । देउवा दम्पतीको हकमासमेत विभागले पक्राउ गरेर अनुसन्धान गर्ने छ । सम्पत्ति शुद्धीकरण कसुरमा ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।
कहाँ छन् देउवा दम्पती ?
पाँचपटक नेपालको प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा तथा पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा हाल हङकङमा रहेको बताइएको छ । उनीहरु यसअघि सिंगापुरमा उपचारका लागि भन्दै पुगेका थिए ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन हुँदा राणा परराष्ट्रमन्त्री थिइन् । भदौ २३ गते प्रहरीको गोली लागेर संसद् भवन अगाडि पुगेका १९ जना प्रदर्शनकारी मारिएपछि भने नेपाली राजनीतिको कोर्स फेरिएको हो । भदौ २३ गतेको प्रहरीको दमनपछि भदौ २४ मा देशभर हिंसात्मक प्रदर्शन भयो ।
२४ गतेको प्रदर्शनपछि केपी शर्मा ओली नेतृत्वको सरकार मात्रै ढलेन देशका महत्वपूर्ण कार्यालहरुमाथि नै आगजनी भए ।
बूढानीलकण्ठस्थित देउवा निवास र अन्य पूर्वप्रधानमन्त्रीहरुका घर नै जलेका थिए । देउवाको घर आगजनी हुँदा घरभित्र जलेका पैसाहरुसमेत भेटिएका थिए । देउवा दम्पती नै मुस्किलले जोगिएका थिए । सैनिक ब्यारेकमा रहेर उनीहरुको लामो उपचार भएको थियो ।
उनीहरुको निवासमा रकम भेटिएपछि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्नुपर्ने माग त्यसबेला नै उठेको थियो ।
तर, जेनजी प्रदर्शनपछि चुनाबी म्यान्डेटका लागि बनेको पूर्वप्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले भने अनुसन्धान अघि बढाएन ।
फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै करिब दुई तिहाइ बहुमत ल्याएपछि बनेको सरकारले भने अनुसन्धान अघि बढाएको हो ।
प्रधानमन्त्री शाह रास्वपाकै वरिष्ठ नेता हुन् ।
चुनाव हुनु एक साताअघि फागुन १४ गते देउवा उपचारका लागि एक्लै सिंगापुर उडेका थिए । आरजु राणा भने त्यसअघि नै भारतमा थिइन् ।
तर, राणा पनि भारत हुँदै सिंगापुर पुगेका हुन् । हाल भने उनीहरु सिंगापुर हुँदै हङकङ पुगेको बताइएको छ ।
त्यसअघि कात्तिक १० मा पनि देउवा दम्पती उपचारका लागि सिंगापुर गएका थिए । उनीहरु त्यसबेला १८ दिनको उपचारपछि फिर्ता भएका थिए ।
उपस्थित नभए इन्टरपोलमार्फत् हुन सक्छ पक्राउ
हङकङमा रहेका देउवा दम्पती पक्राउ पुर्जी जारी भएको सूचना पछि आफैँ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित हुन सक्छन् ।
पक्राउ पुर्जी नै जारी भएपछि भने उनीहरु नेपाल फर्किदा विमानस्थलबाट नै प्रहरीले पक्राउ गर्न सक्छ । तर, प्रहरीले आफैँ थुनेर अनुसन्धान गर्न भने मिल्दैन । उनीहरुलाई सिधै विभागको कार्यालय बुझाउनु पर्ने हुन्छ ।
अब उनीहरु नेपाल नै नफर्किए के हुन्छ ?
यस्तो अवस्थामा भने नेपाल प्रहरी र विभागले उनीहरु पहिलो चरणमा देउवा दम्पतीको पासपोर्ट रोक्का गर्नुपर्ने हुन्छ । पासपोर्ट रोक्का गरिएपछि भने उनीहरुको सम्पूर्ण विदेश भ्रमण अवैध हुन्छ ।
प्रहरीले त्यसपछि उनीहरुलाई नेपाल फर्काउन प्रहरीको अन्तराष्ट्रिय अपराध नियन्त्रण संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी गराउँछ ।
इन्टरपोटले डिफ्युजन नोटिस जारी गरेपछि भने इन्टरपोलका सदस्य राष्ट्रहरुले नोटिस जारी भएका व्यक्तिको अपराधको गाम्भीर्यतालाई हेरेर सम्बन्धित देश फिर्ता गर्ने वा उनीहरु बारेको विवरण दिन सक्छ ।
हाल हङकङसहित इन्टरपोटलमा १९६ राष्ट्र छन् । तर, त्यसका लागि सरकारको कूटनीतिक पहलसमेत गर्नुपर्ने हुन सक्छ । इन्टरपोटले डिफ्युजन नोटिस जारी गरेर पनि देउवा दम्पती देश फिर्ता भएनन् भने प्रहरीले उनीहरुविरुद्ध अर्को ‘रेड नोटिस’ जारीको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । इन्टरपोलले जारी गर्ने ‘रेड नोटिस’ नै अन्तिम नोटिस हो ।
रेड नोटिस जारी भएपछि भने सदस्य राष्ट्रका प्रहरीले नै पक्राउ गरेर नेपाल फर्काउन समेत सक्नेछन् । आत्मसमर्पण, वा यस्तै कानुनी कारबाहीको लागि विचाराधीन व्यक्तिलाई पत्ता लगाउन र अस्थायी रूपमा पक्राउ रेड नोटिस जारी गरिँदै आएको छ ।
सुपुर्दगीका लागि भने सम्बन्धित देशका प्रहरी र नेपाल प्रहरी तथा दुई देशबीचको कूटनीतिक सम्बन्धले ठूलो भूमिका खेल्ने गर्छ ।