पोखरा पोखरामा गएको साँझ व्यस्त बजारमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ । आफ्नो पसलबाट घर फर्कदै गरेकी ४२ बर्षिया सिर्जना पौडेल केसीलाई बुधबार साँझ पोखरा ८ शिवालयचोकमा एक युवकले खुकुरी प्रहार गरी हत्या गरेको हो । मानिसहरुको चहलपहल भइरहेको व्यस्त बजारमा हत्यापछि हत्यारा मोटरसाईकल चढेर फरार भएको स्थानीय प्रत्यक्षदर्शीहरुले वताएका छन ।
टाउकोमा खुकुरी प्रहारवाट गम्भिर घाइते बनेकी केसीलाई तत्काल स्थानीयबासीबासीको सहयोगमा प्रहरीले उद्धार गरी नजिकैको गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगेपनि चिकित्सकले मृत घोषित गरेका थिए ।
ब्यस्त बजारमा सबैका सामुन्ने खुकुरी प्रहार गरेर महिलाको ज्यान लिएपछि स्थानीयबासी त्रसित बन्न पुगेका छन । रगताम्य घटनास्थलको स्थानीय मानिसले सफाई गरेका थिए । घटनापछि पुगेको प्रहरीले घटनास्थलको मुचुल्का गरेको छ भने आक्रमणकारी हत्याराका खोजी भइरहेको जनाएको छ ।
मृतक केसीको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।