काठमाडौँ —झुक्किएर फोन गर्दा शुरु भएको विवाद चर्किएपछि ललितपुरको पाटन दरबार स्क्वायरमा दुई युवकको हत्या भएको छ।
झुक्किएर मोवाइलमा फोन गएपछि भनाभनबाट विवादमा उत्रिएका उनीहरु मध्ये झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङलाई अर्को पक्षले खुकुरी प्रहार गरी हत्या गरेको हो ।
फोनमा चर्काचर्की पछि भेटेरै कुरा गर्ने भन्दै दरवार स्क्वायरमा भेट भएका नेम्वाङ दाजुभाईलाई ललितपुरका संजिव नेपालीले खुकुरी प्रहार गरी हत्या गरेका थिए । प्रहरीले हत्यामा संलग्न रहेको भन्दै नेपालीसँगै रहेका गैंडाकोटका गगन सुनारलाई पनि पक्राउ गरेको छ ।
हत्यामा संलग्न सञ्जीव नेपालीलाई घटनाको केहि समयमै नियन्त्रणमा लिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार सिर्जनले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो।
त्यही विषयमा उनीहरूबीच फोनमा भनाभन भयो। भेटेरै कुरा गर्ने भन्दै उनीहरू बुधबार दिउँसो ४ बजेतिर पाटन दरबारमा जम्मा भएका थिए, जहाँ विवाद बढेपछि सञ्जीवले छुरा प्रहार गरे।
गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइको उपचारका क्रममा बिएन्डबी अस्पतालमा मृत्यु भएको हो।