पोखरा-पूर्व खेलाडीहरुबीच आपसी सदभाव र सहकार्यको विकास गर्ने उदेश्यले पोखरा ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
गण्डकी स्पोर्टस् क्लबको आयोजनामा बिहीबारदेखि भएको प्रतियोगितामा १६ टिम सहभागि छन । आयोजक क्लबका अध्यक्ष उमेश सिकेले पूर्व खेलाडीहरुवीच आपसी सद्भाव बृद्धि गरी कौशल प्रर्दशन सँगै उनीहरुले खेलकुदको क्षेत्रमा दिएको योगदानको कदर गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । गण्डकी स्पोर्टस क्लब पोखराले पोखरामा खेलकुद सम्वन्धि विभिन्न गतिविधिहरुको आयोजना गर्दै आएको जानकारी दिदै अध्यक्ष सिकेले अहिले ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता गरिएको जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोर्ट्स क्लबले आयोजक टिम ‘बी’ लाई ४–१ गोल अन्तरले पराजित गरयो ।
सम्पदाको जितमा बेदबहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले समान १र१ गोलको योगदान दिए भने, आयोजकका तर्फबाट अर्जुन गुरुङले सान्त्वना १ गोल फर्काए ।
यस्तै दोस्रो खेलमा मेजर एफसीले घारीपाटन भेट्रान्सलाई २–० गोल अन्तरले हराउँदै मेजर एफसी दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए ।
उनका अनुसार आज भएको अन्तिम खेलमा न्यूरोड एफसीले एलसी ब्रदर्समाथि १–० गोल अन्तरले संघर्षपूर्ण जित निकाले ।
अब शुक्रबार पहिलो चरणकै खेल हुने संयोजक मुल्मीले बताए ।
शुक्रबार आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरियल एक्स एलजी एकता र एनके एफसी भिड्नेछन् ।
तेस्रो खेलमा एट टु नाइन र पोखरा १५ भिड्नेछन् । चौथो खेलमा टिचर एफसी र पोखरा लायन भिड्नेछन् भने अन्तिम खेलमा हेमजा एफसी र कस्केरी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ३ हजार, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएका छन् ।