२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत

ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत

शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहिबार अदालतमा पुनः उपस्थीत गराइएको छ । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोशनका सन्दर्भमा भएको सुनुवाईका क्रममा उनलाई अदालतमा उपस्थीत गराइएको हो ।

    आज बिहिबार विहान १० बजेका लागि सुनुवाई तोकिएको थियो तर नरेशले आफूलाई नेपाली अनुवादक चाहिने बताएपछि नेपाली अनुवादकको अभावमा सुनुवाई केहीबेर सारिएको थियो । न्यायाधिसले ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत गरेका छन् । अर्थात् अब यो मुद्दामा ग्रान्ड जुरी राखिने छैन । अब अर्को सुनुवाई सेप्टेम्बर १६ का लागि तोकिएको छ ।

    अक्टोबर २४ को प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि पनरेश भट्टका तर्फबाट दायर गरिएको मोशन गत बिहिबार अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको थियो ।  प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा विहान पौने ९ बजेका लागि ग्रयाण्ड जुरी तय भएको थियो । तर ग्राण्ड जुरी रद्द गर्ने मोशन स्वीकृत भएकाले मुद्दा अझ छिटो प्रकृयामा जानेछ ।

    गत बिहिबारको सुनुवाइमा अभियोजकहरूले नरेशको प्रस्तावमा विरोध नगरेपछि अक्टोबर २४ मा हुने प्रारम्भिक सुनुवाइ छुट दिनका लागि  दायर  मोशन स्वीकृत गरिएको थियो । नरेश सुनुवाईका क्रममा अदालतमा उपस्थीत भएका थिए । नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिनका लागि प्रारम्भिक सुनुवाइमा छुटको प्रस्ताव गरेको थियो । जसका कारण  मुद्दा सीधै अर्को चरणमा अर्थात्  ग्रयाण्ड जूरी सुनुवाइमा गएको थियो ।

    प्रारम्भिक सुनुवाई र ग्रान्ड जुरी रद्द गर्दा अभियोजकहरुलाई थप प्रमाणहरु जुटाउनका लागि कम समय हुनेछ । नरेशलाई विना धरौटी हिराशतमा राखिएकाले नरेशको डिफेन्स टोलीले मुद्दालाई छिटो अगाडि बढाउन चाहेका थिए । प्रारम्भिक सुनुवाइ र ग्रान्ड जुरीले मुद्दामा थप ध्यानाकर्षण र चर्चा समेत हुने गर्छ । सम्भवत नरेशको डिफेन्स टिम यसलाई कम गराउने रणनीतिमा रहेको छ । मुद्दा अगाडि सर्दा अभियोजन पक्षमाथि थप दवाव श्रृजना हुनसक्छ । त्यसैले नरेशको डिफेन्स टिमले यही रणनीतिमा ग्रयाण्ड जूरी पनि रद्द गराएको छ ।

    ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा खोजी गरेको थियो । अधिकारीहरूले थप प्रमाणहरू खोज्न जारी राखेका छन् । ममता काफलेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टमाथि थप अभियोगहरु लाग्नसक्ने प्रहरीले जनाएको छ ।

    यस अगाडि भएको सुनुवाईमा नरेशलाई  अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । न्यायाधीशले नरेश भट्ट भाग्नसक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको विश्वास गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए । नरेशका वकिलले ममता फेला नपरेकाले यस मुद्दामा धरौटीविना राख्नुपर्ने कुनै सम्भावित कारण नभएको भन्दै तर्क गर्न खोजेपनि अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।

    ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको समेत खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको  अभियोजकले अदालतमा बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend