काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रमा प्रगति सार्वजनिक गरेको छ । प्रगति विवरणअनुसार विपन्न नागरिकको उपचार पहुँच विस्तारदेखि अस्पताल सेवा सुधारसम्मका महत्त्वपूर्ण पहलहरू अघि बढाइएको उल्लेख छ ।
विपन्न, असहाय तथा बेवारिसे नागरिकको उपचार सुनिश्चित गर्न ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस पोर्टलमार्फत हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रविष्ट गरिसकेका छन् ।
सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवा गुणस्तर सुधार गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गरिएको छ ।
त्यस्तै, जलनका बिरामीको प्रभावकारी उपचारका लागि नौ वटा संघीय अस्पताल र सातै प्रदेशका १४ अस्पताल गरी कुल २३ अस्पताल तयार गरिएको छ । दुर्गम तथा पहाडी क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन एयर एम्बुलेन्स सेवा ‘स्ट्यान्डबाई’ राखिएको छ । यसका लागि ११ वटा हेलिकप्टर कम्पनीहरू सहुलियत दरमा उद्धार सेवा उपलब्ध गराउन सहमत भएका छन् ।
स्वास्थ्य मन्त्रालयले क्यूआर कोडमार्फत प्राप्त तीन हजार १२२ गुनासोमध्ये दुई हजार ६७१ गुनासोको विश्लेषण गरी समाधानका लागि सम्बन्धित अस्पताल तथा निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
स्वास्थ्य सेवा सुधारका अन्य प्रयासहरू अन्तर्गत सरकारी अस्पतालका फार्मेसीहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली तथा ‘सुलभ फार्मेसी’ सञ्चालन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, बिरामीको उपचार इतिहास र रिफरल प्रणाली व्यवस्थित गर्न एकीकृत डिजिटल स्वास्थ्य सूचना प्रणाली विकास भइरहेको मन्त्रालयले जनाएको छ ।
अनावश्यक निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न ‘प्रेषण निर्देशिका २०८२’ बमोजिम अस्पतालहरूले आफ्नै प्रोटोकल तयार गरी कार्यान्वयन सुरु गरेको मन्त्रालयले जनाएको छ ।