इलाम-बिहान सबेरै उठेर कुखुराको खोर सफा गर्ने, दाना–पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा मासु तयारी गर्ने र बजारसम्म पुर्याउने काम अहिले महेन्द्र घिमिरेको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। फाकफोकथुम गाउँपालिका–५ लुम्देका घिमिरे केही वर्षअघि वैदेशिक रोजगारीमा थिए। आज भने उनी आफ्नै गाउँमा सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित छन्।
घिमिरेद्वारा सञ्चालित नवमी पोल्ट्री फार्म एन्ड फ्रेस हाउस स्थानीयस्तरमा गुणस्तरीय कुखुराको मासु उत्पादन तथा बिक्रीको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। विदेशमा पाँच वर्ष बिताएर २०७१ सालमा गाउँ फर्किएका घिमिरेले सुरुआती अन्योलबीच अन्ततः कृषि उद्यमलाई रोजे।
“विदेशबाट फर्किएपछि गाउँमै केही गर्ने सोच त थियो, तर कुन व्यवसाय सुरु गर्ने भन्ने स्पष्ट योजना थिएन,” घिमिरे सम्झन्छन्। “अन्ततः २०७२ सालबाट कुखुरापालन व्यवसाय सुरु गर्ने निर्णय गरेँ।”
व्यवसायको सुरुआती यात्रा भने सहज थिएन। त्यसबेला गाउँमा नियमित विद्युत् सुविधा उपलब्ध नभएकाले उनले सोलार प्यानलको सहारामा चल्ला पाल्न थाले। तर आवश्यक तापक्रम कायम राख्न नसक्दा केही क्षति बेहोर्नुपर्यो। त्यसपछि अनुभव बटुल्दै चल्ला हुर्काएर बिक्री गर्ने कामबाट व्यवसाय विस्तारको बाटो समाते।
हाल उनको फार्ममा करिब २०० वटा बिक्रीयोग्य कुखुरा र २५० वटा चल्ला रहेका छन्। जिउँदो कुखुरा प्रतिकिलो ४०० रुपैयाँ र काटेको मासु प्रतिकिलो ५०० रुपैयाँमा बिक्री हुने गरेको छ। उत्पादन भएका कुखुरा तथा मासु पाँचथरको रवि र झापाको दमकसम्म पुग्ने गरेका छन्।
“सुरुमा धेरै समस्या आए, तर मैले हार मानिनँ,” घिमिरे भन्छन्। “कुखुरापालन व्यवसायमा नगद कारोबार प्रत्यक्ष हुने भएकाले आम्दानीको परिणाम छिट्टै देख्न सकिन्छ।”
यद्यपि, व्यवसाय विस्तारका क्रममा चुनौतीहरू अझै छन्। सदरमुकामबाट टाढा रहेको लुम्दे क्षेत्रमा चल्ला ल्याउन र उत्पादित मासु बजारसम्म पुर्याउन ढुवानी खर्च उच्च हुने गरेको छ। यसले उत्पादन लागत बढाउने गरेको घिमिरेको अनुभव छ।
घिमिरेको उद्यम यात्रामा सरकारी सहयोगले पनि महत्वपूर्ण भूमिका खेलेको छ। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले फाकफोकथुम गाउँपालिका, अन्य दुई स्थानीय तह र दायित्व संस्थासँगको साझेदारीमा सञ्चालन गरेको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना मार्फत उनले विभिन्न सहयोग प्राप्त गरेका छन्।
परियोजनाअन्तर्गत उनले व्यावसायिक योजना निर्माणसम्बन्धी तालिम, आर्थिक अनुदान तथा आवश्यक सामग्री पाएका छन्। प्राप्त अनुदानबाट फ्रिज, खानेपानीका पाइप तथा कुखुरापालनका अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न सफल भएको उनी बताउँछन्।
“यस कार्यक्रमले अन्य व्यवसायीहरूसँग भेटघाट र अनुभव आदानप्रदान गर्ने अवसर दियो,” घिमिरे भन्छन्, “व्यावसायिक योजना बनाउन सहज भयो। अहिले नयाँ भवन निर्माणको तयारी गरिरहेको छु र त्यसका लागि पनि सहयोग प्राप्त भएको छ।”
घिमिरेको फार्मले हाल परिवारका दुई सदस्यलाई प्रत्यक्ष रोजगारी दिएको छ भने सरसफाइ तथा अन्य काममा स्थानीयवासीले समेत अवसर पाएका छन्। वार्षिक करिब आठ लाख रुपैयाँ आम्दानी गरिरहेको यो व्यवसाय गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिने उदाहरण बनेको छ।
फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल का अनुसार सीमित स्रोतसाधन, यातायातको समस्या र प्रारम्भिक असफलतासँग संघर्ष गर्दै घिमिरेले हासिल गरेको सफलता गाउँका युवाका लागि प्रेरणादायी बनेको छ।
“उहाँको लगनशीलताले गाउँमै उद्यम गरेर सफल हुन सकिन्छ भन्ने सन्देश दिएको छ,” अध्यक्ष खनालले भन्नुभयो, “स्थानीय युवालाई उद्यमशीलतासँग जोड्न र प्रोत्साहन गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।”
विदेशको कमाइभन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर आत्मनिर्भर बन्ने सपना देखेका महेन्द्र घिमिरेको कथा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। कठिनाइसँग नडराई निरन्तर प्रयास गरे गाउँमै पनि सम्मानजनक आम्दानी र सफल भविष्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।