चितवन- देशकै व्यस्त राजमार्गमध्ये एक मानिने पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–मलेखु सडकखण्डमा वर्षौंदेखि सडक विस्तारको काम चलिरहे पनि यात्रु र सवारी चालकले अझै दैनिक सास्ती भोग्नुपरेको छ। साँघुरा पुल, धुलाम्मे तथा खाल्डाखुल्डी सडक, निर्माण सामग्रीका थुप्रा र लामो ट्राफिक जामका कारण यो खण्ड भएर यात्रा गर्ने हजारौँ यात्रु प्रत्यक्ष प्रभावित हुँदै आएका छन्।
विशेषगरी साँघुरा र पुराना पुलका कारण ठूलो सवारीसाधन एकैपटक वारपार गर्न कठिन हुने गरेको छ। कतिपय स्थानमा पुल पार गर्न सवारीसाधनले पालो कुर्नुपर्ने अवस्था रहँदा घण्टौँसम्म जाम हुने गरेको यात्रुहरूको गुनासो छ। वर्षायाममा खोलामा बाढी आउँदा र पहिरो खस्दा जोखिम झनै बढ्ने गरेको छ।
यही समस्यालाई समाधान गर्ने उद्देश्यले निर्माणाधीन चार पुल आगामी असारभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाका पुलको मुख्य संरचनागत काम सम्पन्न भइसकेको छ।
“पुलका अधिकांश काम सकिएका छन्। सडकसँग जोड्ने पहुँचमार्ग, ट्राफिक सुरक्षाका संरचना, प्लास्टर र रङरोगनजस्ता सामान्य काम मात्र बाँकी छन्,” मिश्रले भन्नुभयो, “समग्रमा ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ र असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौँ।”
हाल मुग्लिङ–मलेखु सडकखण्डमा सडक विस्तारको कामसँगै यात्रुहरूले धुलो, हिलो र जामको दोहोरो मार खेपिरहेका छन्। सुक्खायाममा धुलोले यात्रा कष्टकर बन्छ भने वर्षायाममा हिलो र पहिरोको जोखिमले आवागमन प्रभावित हुने गरेको छ। दैनिक हजारौँ सवारीसाधन गुड्ने यो सडकमा निर्माण कार्य ढिलो हुँदा यात्रु, व्यवसायी तथा यातायात व्यवसायी सबै प्रभावित बनेका छन्।
यात्रुहरूका अनुसार सामान्यतया दुईदेखि तीन घण्टामा पार गर्न सकिने दूरी निर्माण कार्य र जामका कारण कहिलेकाहीँ दोब्बर समय लाग्ने गरेको छ। राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएकाले यसको प्रभाव देशभरको यातायात प्रणालीमा समेत पर्ने गरेको छ।
योजनाअन्तर्गत हुग्दी र चरौँदी खोलाका थप दुई पुल निर्माणाधीन छन्। आयोजनाका अनुसार हुग्दी पुलको करिब ३० प्रतिशत र चरौँदी पुलको ५० प्रतिशत काम सम्पन्न भएको छ। ती पुलमा हाल पिल्लर तथा आधार संरचना निर्माणको काम भइरहेको छ।
यसैबीच, अलकत्रा (बिटुमिन) अभावका कारण केही समयदेखि रोकिएको कालोपत्रको काम पनि पुनः सुरु हुने भएको छ। निर्माण कम्पनीले केही दिनभित्र अलकत्रा उपलब्ध गराउने जानकारी दिएको आयोजना कार्यालयले जनाएको छ। सबबेस राखिएको करिब दुई किलोमिटर सडकमा अब बेस राखेर कालोपत्र गरिने तयारी छ।
३८.८६ किलोमिटर लम्बाइको मुग्लिङ–मलेखु सडकखण्डमा हालसम्म करिब ४३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। यस खण्डमा केही भाग छ लेन, केही भाग चार लेन तथा उकालो क्षेत्रमा ‘क्लाइम्बिङ लेन’ निर्माण गरिने योजना छ।
विश्व बैंकको सहयोगमा करिब चार अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजना समयमै सम्पन्न हुन नसक्दा आलोचनासमेत खेप्दै आएको छ। गत पुसमा सकिनुपर्ने निर्माण अवधि १८३ दिन थप गरिए पनि काम अझै अपूरो छ। थप म्याद विस्तारको प्रक्रिया समेत अघि बढाइएको छ।
स्थानीयवासी र यात्रुहरूले भने निर्माण कार्य छिटो सम्पन्न गरी सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सरकार र निर्माण कम्पनीलाई दबाब दिइरहेका छन्। चार नयाँ पुल सञ्चालनमा आएपछि साँघुरा पुलका कारण हुने जाम र जोखिम केही हदसम्म घट्ने अपेक्षा गरिएको भए पनि सम्पूर्ण सडक स्तरोन्नति सम्पन्न नहुँदासम्म यात्रुहरूले सास्तीबाट पूर्ण राहत पाउने अवस्था भने देखिँदैन।