काठमाडौं - चितवनबाट अपहरण गरिएका १५ वर्षीय एक बालकलाई प्रहरीले काठमाडौंको गंगबुस्थित होटलबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार असार १ गते साँझ करिब ६:३० बजे चितवनको नारायणगढ क्षेत्रबाट बालकलाई अपहरण गरी काठमाडौं ल्याइएको थियो। अपहरणकारीहरूले बालकलाई बन्धक बनाएर परिवारसँग २२ लाख रुपैयाँ फिरौती मागेका थिए।
इन्स्टाग्राममार्फत सम्पर्क, विद्यालय नजिकैबाट अपहरण
प्रहरी अनुसन्धान अनुसार अपहरणको योजना भारतको बिहार राज्यको बेतियामा २०८३ जेठ २९ गते नै बनाइएको थियो। योजनाअनुसार मुख्य योजनाकारमध्ये एक मानिएका सुजित कुमारसहित पाँच जना युवक जेठ ३० गते वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेका थिए।
उनीहरू चितवन पुगेर दुई दिनसम्म स्थानीय होटलमा बसेका थिए। त्यसपछि असार १ गते सुजित कुमारले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत बालकसँग सम्पर्क गरी भेट्न बोलाएका थिए।
बालकलाई सिद्धार्थ विद्यालय पछाडिको क्षेत्रमा बोलाएर चार जनाको समूहले गाडीमा चढाएको प्रहरीको भनाइ छ। सुरुमा उनीहरूले बालकलाई आफूहरू बसेको होटलमा लगेर करिब दुई घण्टा राखेका थिए। त्यसपछि धारिलो हतियार देखाउँदै, कुटपिट गर्दै र ज्यान मार्ने धम्की दिँदै काठमाडौं ल्याइएको अनुसन्धानबाट खुलेको छ।
काठमाडौं ल्याएर होटलमा बन्धक
अपहरणकारीहरूको समूह असार १ गते राति करिब ११ बजे कलंकी पुगेको थियो। त्यसपछि राति १ बजेतिर गंगबुको नयाँ बसपार्क क्षेत्रस्थित होटल फ्यामिलीको कोठा नम्बर २०३ मा बसेको प्रहरीले जनाएको छ।
बालकलाई सोही होटलमा बन्धक बनाएर राखिएको थियो। भोलिपल्ट बिहान अपहरणकारीहरूले बालकका बुबालाई वाट्सएपमार्फत सम्पर्क गरी २४ घण्टाभित्र २२ लाख रुपैयाँ उपलब्ध गराउन चेतावनी दिएका थिए। रकम नदिए बालकको ज्यान लिने धम्की समेत दिइएको थियो।
कागजको टुक्राले बचायो ज्यान
घटनाको सबैभन्दा रोचक पक्ष भने बालकको साहसिक प्रयास बनेको छ।
प्रहरीका अनुसार बन्धक बनाइएका बालकले एउटा कागजको टुक्रामा आफू अपहरणमा परेको, आफ्नो नाम, बाबुको नाम तथा सम्पर्क नम्बर लेखेर होटल बाहिर फालिदिएका थिए। उनले उक्त कागजमा प्रहरीलाई खबर गरिदिन अनुरोध समेत गरेका थिए।
संयोगवश उक्त कागज एक व्यक्तिले फेला पारे। उनले कागजमा उल्लेखित नम्बरमा सम्पर्क गरेर बालकका बुबालाई जानकारी दिएका थिए।
त्यसपछि परिवारले प्रहरीलाई खबर गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सक्रिय भएको थियो।
होटलमा छापा, बालकको उद्धार
प्रहरीले प्राप्त सूचनाको आधारमा गंगबु क्षेत्रमा खोजतलास तीव्र बनाएको थियो। अनुसन्धानको क्रममा बालक राखिएको होटलको पहिचान भएपछि असार २ गते दिउँसो करिब ४ बजे प्रहरी टोलीले होटलमा छापा मारेको थियो।
छापाका क्रममा बालकलाई सकुशल उद्धार गरिएको थियो भने घटनामा संलग्न पाँचै जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका भारतीय नागरिक
प्रहरीले पक्राउ परेकाहरूको परिचय यसप्रकार रहेको जनाएको छः
- सुजित कुमार (१८ वर्ष), बिहार, भारत
- गोलु कुमार सोनी (१८ वर्ष), बिहार, भारत
- गोलु कुमार (१८ वर्ष), बिहार, भारत
- बिक्कि कुमार (१८ वर्ष), बिहार, भारत
- मोहम्मद साहिद (१८ वर्ष), बिहार, भारत
अनुसन्धानका क्रममा उनीहरूले नेपाली सिमकार्ड प्रयोग गरी वाट्सएपमार्फत सम्पर्क र फिरौती मागेको समेत खुलेको छ।
अनुसन्धान चितवन प्रहरीलाई
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा भएको अपरेसनबाट बालकको उद्धार गरिएको हो। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।
अभिभावकलाई प्रहरीको सुझाव
प्रहरीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सम्पर्क गर्दा विशेष सावधानी अपनाउन अभिभावक तथा किशोरकिशोरीलाई आग्रह गरेको छ। पछिल्लो समय फेसबुक, इन्स्टाग्राम, टिकटक तथा अन्य डिजिटल प्लेटफर्म प्रयोग गरेर विभिन्न आपराधिक गतिविधि हुने गरेको भन्दै बालबालिकाको अनलाइन गतिविधिमा अभिभावकले समेत निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।