२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

    विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि केही अन्तर्राष्ट्रिय उडान भए पनि ती नियमित हुन सकेका थिएनन्।

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान आज साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिने तयारी गरिएको छ।

    अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो तथा अन्य सेवा प्रवाहको सम्पूर्ण तयारी पूरा भएको विमानस्थल प्रशासनले जनाएको छ।

    फ्लाई दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा तथा मालाले स्वागत र बिदाइ गर्ने तयारी गरेका छन्।

    पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले राजस्व सङ्कलन, यात्रु जाँचपास तथा वैध व्यापारसँग सम्बन्धित आवश्यक सबै तयारी पूरा भएको बताउनुभएको छ।

    पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हबमध्ये एक भएकाले पोखरा–दुबई उडानबाट पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनसक्ने अपेक्षा गरिएको छ। फ्लाई दुबईले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने भएकाले पोखरा आउने विदेशी पर्यटकका लागि समेत यो उडान उपयोगी हुने उहाँको भनाइ छ।

    त्यस्तै, रोजगारी तथा अध्ययनका लागि नेपाली युवा दुबई जाने क्रम रहेकाले पोखराबाटै नियमित उडान सञ्चालन हुँदा यात्रुलाई थप सहज हुने पर्यटन व्यवसायीको अपेक्षा छ।

    यसैबीच, अन्तर्राष्ट्रिय उडानलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले विमानस्थलको सुरक्षा अवस्थाबारे निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend