२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, तराईका केही भूभागमा तातो लहरको जोखिम

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, तराईका केही भूभागमा तातो लहरको जोखिम

आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शनिबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मनसुन सक्रिय बन्दै जाँदा देशका विभिन्न क्षेत्रमा वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको विभागले जनाएको छ।

    विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी केही दिन देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।

    आइतबार कहाँ कस्तो मौसम ?

    मौसमविद्का अनुसार आइतबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ।

    विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। भारी वर्षासँगै नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा शहरी क्षेत्रमा डुबानको जोखिम रहने विभागले जनाएको छ।

    यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर (हीट वेभ) को सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने पूर्वानुमान छ।

    सोमबार पनि उस्तै मौसम

    विभागका अनुसार सोमबार पनि देशका हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बदली रहनेछ।

    लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको अवस्था कायम रहने सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि तातो दिन हुने सम्भावना रहेको छ।

    मौसमविद्को सुझाव : सतर्कता अपनाउन आग्रह

    मौसमविद्हरूले भारी वर्षाको सम्भावना भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न, नदी तथा खोलानजिक सावधानी अपनाउन र पहिरोको जोखिम रहेका बस्तीमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।

    त्यसैगरी, तातो लहर प्रभावित क्षेत्रका बासिन्दालाई अत्यधिक घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा प्रयोग गर्न र वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीको विशेष ख्याल गर्न आग्रह गरिएको छ।

    मनसुन सक्रिय भएसँगै आगामी दिनमा मौसममा थप परिवर्तन आउन सक्ने भएकाले विभागले नियमित रूपमा मौसम पूर्वानुमान तथा सूचनाहरूको अद्यावधिक जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend