२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

लागूपदार्थको लतमा फँसेका युवकको आक्रमणबाट दुई प्रहरीसहित तीन घाइते

लागूपदार्थको लतमा फँसेका युवकको आक्रमणबाट दुई प्रहरीसहित तीन घाइते

सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • मोरङ - विराटनगरमा सुधार गृह पठाउने तयारी भइरहेका एक युवाले चक्कु प्रहार गर्दा दुई प्रहरीसहित तीन जना घाइते भएका छन्। आइतबार विराटनगर महानगरपालिका–१ मा भएको घटनामा २९ वर्षीय रुविन कार्कीले अन्धाधुन्ध चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते हुनेमा विराटनगर भट्टाचोकस्थित सीआरभीमा कार्यरत प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा रहेका छन्।

    प्रहरीका अनुसार तीनै जनाको टाउकोमा सामान्य चोट लागेको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।

    लागुपदार्थको लतबाट छुटाउन सुधार गृह पठाउने तयारी

    प्रहरीका अनुसार लागुपदार्थको लतमा फसेका रुविन कार्कीलाई परिवारले सुधारका लागि काठमाडौंस्थित सुधार गृह पठाउने तयारी गरेको थियो। सोही प्रयोजनका लागि काठमाडौंबाट साथीभाई नेपाल सुधार गृहका प्रतिनिधिसमेत कार्कीलाई सम्झाउन घर पुगेका थिए।

    तर, कार्कीले आफू बसेको कोठा बन्द गरी आत्महत्याको प्रयास गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि घटनास्थलमा सीआरभीको प्रहरी टोली परिचालन गरिएको थियो।

    खाटमुनि लुकाइएको चक्कु निकालेर आक्रमण

    प्रहरीका अनुसार परिवार, स्थानीयवासी र प्रहरी टोलीले सम्झाउने प्रयास गरिरहेका बेला कार्कीले खाटमा लुकाइराखेको चक्कु निकाली अन्धाधुन्ध प्रहार गरेका थिए।

    घटनापछि थप प्रहरी टोली घटनास्थलमा पुगेर कार्कीलाई नियन्त्रणमा लिएको थियो। हाल उनलाई धारिलो हतियारसहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मानसिक स्वास्थ्य र लागुपदार्थ दुर्व्यसनप्रति बढ्दो चिन्ता

    प्रहरीका अनुसार रामेछाप स्थायी घर भएका कार्कीको परिवार पछिल्लो समय विराटनगरमा भाडामा बस्दै आएको थियो।

    स्वास्थ्य तथा सामाजिक क्षेत्रका विज्ञहरूका अनुसार लागुपदार्थ दुर्व्यसन, मानसिक तनाव तथा व्यवहारगत समस्याबाट पीडित व्यक्तिलाई सुधार गृह वा पुनःस्थापना केन्द्रमा पठाउँदा परिवार, स्वास्थ्यकर्मी र सम्बन्धित निकायबीच समन्वय आवश्यक हुन्छ। यस्ता अवस्थामा सम्बन्धित व्यक्तिको मानसिक अवस्था मूल्यांकन गरी सुरक्षित ढंगले पुनःस्थापना प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको सुझाव छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend