काठमाडौं - कतारको रणनीतिक रूपमा महत्वपूर्ण रास लाफान औद्योगिक सहरस्थित ग्यास प्लान्टमा भीषण विस्फोट हुँदा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेको बताइएको छ। घटनापछि मध्यपूर्वको ऊर्जा क्षेत्रमा सुरक्षा चासो बढेको छ।
कतारी अधिकारीहरूका अनुसार रास लाफान औद्योगिक क्षेत्रमा सुरुमा ठूलो आगलागी भएको थियो। त्यसपछि भएको शक्तिशाली विस्फोटले व्यापक त्रास फैलाएको थियो। अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जनाइएको छ।
कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विस्फोटमा परी ५४ जना घाइते भएको पुष्टि गर्दै १८ जना बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ।
मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानले विस्फोट प्राविधिक दुर्घटना का कारण भएको देखाएको छ। घटनापछि सार्वजनिक सुरक्षामा कुनै जोखिमपूर्ण ग्यास चुहावट नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, "कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह, नागरिक सुरक्षा निकाय र अन्य आपत्कालीन टोलीहरू बेपत्ता व्यक्तिहरूको खोजीमा सक्रिय रूपमा परिचालित छन्।"
ऊर्जा आपूर्तिमाथि प्रभावबारे अझै स्पष्ट छैन
विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रमध्ये एक कतारको रास लाफान औद्योगिक सहर विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) प्रशोधन केन्द्रमध्ये एक मानिन्छ। तर, विस्फोटले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा कस्तो असर पारेको छ भन्नेबारे कतारी अधिकारीहरूले हालसम्म कुनै औपचारिक जानकारी दिएका छैनन्।
ऊर्जा विश्लेषकहरूका अनुसार यदि उत्पादनमा दीर्घकालीन अवरोध उत्पन्न भयो भने विश्व ऊर्जा बजारमा यसको प्रभाव पर्न सक्ने सम्भावना रहन्छ।
राजधानी दोहासम्म सुनियो विस्फोटको आवाज
समाचार एजेन्सी रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीले विस्फोटको आवाज राजधानी दोहासम्म सुनिएको बताएका छन्। घटनापछि आसपासका क्षेत्रमा केही समय त्रासको अवस्था सिर्जना भएको थियो।
सुरक्षा अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई कारण मानिए पनि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।