काठमाडौं- देशभर मनसुन फैलिने क्रम जारी रहे पनि हाल मनसुन कमजोर अवस्थामा रहेकाले अधिकांश क्षेत्रमा ठूलो वर्षाको सम्भावना न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव रहे पनि देशका अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
यस वर्षको मनसुन गत असार ५ गते कोसी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो भने असार ८ गते लुम्बिनी प्रदेशसम्म विस्तार भएको हो। तर, मनसुनी प्रणाली अझै पूर्ण रूपमा सक्रिय भइनसकेकाले व्यापक वर्षाको अवस्था नदेखिएको मौसमविद्हरू बताउँछन्।
आज कहाँ-कहाँ पानी पर्ने सम्भावना?
मंगलबार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, कोसी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा भने कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
तराईमा तातो लहरको जोखिम कायमै
मनसुन कमजोर हुँदा देशका केही तराई क्षेत्र अझै गर्मीको चपेटामा रहेका छन्। मौसम महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ।
त्यसैगरी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना कति?
मौसमविद् डेभिड ढकाल का अनुसार मंगलबार काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहे पनि त्यो धेरै बलियो छैन।
उनले मध्याह्नपछि बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको बताए। तर, मनसुन कमजोर भएकाले काठमाडौंमा वर्षा हुने सम्भावना करिब ४० प्रतिशत मात्रै रहेको उनको भनाइ छ।
वर्षाका प्रकार कसरी वर्गीकरण गरिन्छ?
मौसमविद्हरूले वर्षालाई २४ घण्टामा परेको पानीको मात्राका आधारमा वर्गीकरण गर्ने गरेका छन्।
- १० मिलिमिटरभन्दा कम : हल्का वर्षा
- १० देखि ५० मिलिमिटर : मध्यम वर्षा
- ५० देखि १०० मिलिमिटर : भारी वर्षा
- १०० देखि २०० मिलिमिटर : धेरै भारी वर्षा
- २०० मिलिमिटरभन्दा बढी : अति भारी वर्षा
‘एक-दुई स्थान’ र ‘अधिकांश स्थान’ भन्नाले के बुझिन्छ?
मौसम पूर्वानुमानमा प्रयोग गरिने शब्दावलीले वर्षा हुने सम्भावित भूभागको प्रतिशत जनाउँछ।
- एक-दुई स्थान : १० प्रतिशतभन्दा कम भूभाग
- थोरै स्थान : १० देखि ३० प्रतिशत भूभाग
- केही स्थान : ३० देखि ५० प्रतिशत भूभाग
- धेरै स्थान : ५० देखि ८० प्रतिशत भूभाग
- अधिकांश स्थान : ८० प्रतिशतभन्दा बढी भूभाग
सतर्कता अपनाउन आग्रह
मौसमविद्हरूले मेघगर्जन तथा चट्याङको सम्भावना रहेकाले खुला स्थानमा अनावश्यक रूपमा नबस्न, पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन तथा स्थानीय मौसमको जानकारी नियमित रूपमा लिन सर्वसाधारणलाई आग्रह गरेका छन्। विशेषगरी तराई क्षेत्रमा तातो लहरको जोखिम रहेकाले अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउन, दिउँसोको समयमा बाहिरी गतिविधि कम गर्न र वृद्ध तथा बालबालिकाको विशेष हेरचाह गर्न सुझाव दिइएको छ।