काठमाडौं – सरकारले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई कडा कारबाही गर्ने तयारी गरेको छ। प्रस्तावित कानुनअनुसार अब मापसे गरेर सवारी चलाउनेलाई सवारीसाधनको प्रकृतिअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गर्न लागिएको हो।
पूर्वाधार विकास मन्त्रालयले तयार गरिरहेको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको मस्यौदामा मापसेसम्बन्धी दण्ड व्यवस्थालाई कडा बनाउने प्रस्ताव गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार दुई वा तीनपांग्रे सवारीसाधन चलाउँदा मापसे गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुनेछ। त्यस्तै, साना सवारीसाधनका चालकलाई ३५ हजार रुपैयाँ र मझौला तथा ठूला सवारीसाधनका चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिने प्रस्ताव गरिएको छ।
मस्यौदामा मादक पदार्थ सेवन गरेको आधारमा मात्र कारबाही नगरी रगतमा रहेको अल्कोहलको निश्चित मात्रा नाघेपछि मात्रै मापसे गरेको मानिने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार रगतमा मादक पदार्थ (ब्लड अल्कोहल कन्सेन्ट्रेसन) को मात्रा ०.०५ ग्राम प्रतिडेसिलिटरभन्दा बढी भएमा मापसे गरेको मानिनेछ। यस्तै, ३० वर्षभन्दा कम उमेरका चालक तथा परीक्षणकाल (प्रोबेसन) मा रहेका चालकको हकमा भने ०.०२ ग्राम प्रतिडेसिलिटरभन्दा बढी अल्कोहल भेटिएमा कारबाहीको दायरामा ल्याइनेछ।
हाल कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा मापसे गरेर सवारी चलाएमा कारबाही गर्ने व्यवस्था भए पनि मदिरा सेवनको न्यूनतम मात्रा भने तोकिएको छैन।
विद्यमान कानुनअनुसार पहिलो पटक मापसे गरेको पाइएमा ५०० रुपैयाँ, दोस्रो पटक एक हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक मापसे गरेको अवस्थामा एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ।
सरकारले प्रस्तावित नयाँ व्यवस्थामार्फत सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षा सुदृढीकरण तथा मापसे गरेर सवारी चलाउने प्रवृत्तिमा नियन्त्रण गर्ने अपेक्षा गरेको छ। यद्यपि, प्रस्तावित व्यवस्था संसदबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।