विराटनगर – झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका एक वडाध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रंगेली नगरपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका सदस्य तथा रोहवरमा बसेका ४६ वर्षीय गणेश ऋषिदेव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवाकुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भनी झुटो विवरण पेस गरी अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया अघि बढाएको आरोप छ।
प्रहरीका अनुसार सोही विवरणका आधारमा नागरिकताको सर्जमिन तथा सिफारिस प्रक्रिया अघि बढाउन संलग्न रहेको आरोपमा वडाध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवलाई पक्राउ गरिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कानुनी कारबाहीका लागि दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रद्वारा जारी विज्ञप्तिअनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले नागरिकता सिफारिस प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।