२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

नेपालमा विदेशी नागरिकमाथि निगरानी कडा, ६ महिनामै २७२ जना डिपोर्ट

नेपालमा विदेशी नागरिकमाथि निगरानी कडा, ६ महिनामै २७२ जना डिपोर्ट

शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • 10.jpgकाठमाडौं – अध्यागमन विभाग र नेपाल प्रहरीले पछिल्ला केही महिनायता नेपालमा बसोबास गर्ने विदेशी नागरिकमाथि निगरानी कडा बनाएका छन्। भिसाको उद्देश्यविपरीत विभिन्न अवैध तथा शंकास्पद गतिविधिमा विदेशी नागरिक संलग्न भएको भेटिएपछि निगरानी बढाइएको हो।

    अध्यागमन विभागका अनुसार निगरानी कडा पारिएसँगै ठूलो संख्यामा विदेशी नागरिक पक्राउ परेका छन् भने दोषी ठहरिएकालाई डिपोर्ट (निर्वासन) गर्ने क्रम पनि तीव्र बनाइएको छ।

    अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले विदेशी नागरिकका गतिविधिमाथि विशेष निगरानी भइरहेको बताए।

    "शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरेका छौं। दोषी देखिएकालाई डिपोर्ट गर्ने गरिएको छ," उनले बताए।

    ठमेलमा विदेशी महिलाको अवाञ्छित गतिविधि

    गत असार ८ गते काठमाडौंको ठमेलस्थित फायरचोक क्षेत्रबाट प्रहरीले पाँच युगाण्डेली र दुई भियतनामी गरी सात विदेशी महिलालाई पक्राउ गरेको थियो।

    प्रहरीका अनुसार ती महिलाले सडकमा हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकलाई बाटो छेक्ने, अनावश्यक रूपमा हैरानी दिने तथा अश्लील गतिविधि गर्ने गरेको पाइएको थियो।

    यसअघि जेठ ७ गते पनि ठमेलबाट भियतनाम, बंगलादेश र युगाण्डाका नौ विदेशी महिला पक्राउ परेका थिए। उनीहरू यौन गतिविधिका लागि मोलमोलाइ गरिरहेको अवस्थामा फेला परेका थिए।

    त्यस्तै, २०८२ चैत ११ गते ठमेलबाट २० जना युगाण्डेली महिला अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेपछि अध्यागमन विभागले एक वर्ष नेपाल प्रवेशमा रोक लगाउँदै डिपोर्ट गरेको थियो।

    प्रहरी तथ्यांकअनुसार पछिल्लो चार महिनामा मात्र ठमेल क्षेत्रबाट यौन गतिविधिमा संलग्न रहेको आरोपमा ३६ विदेशी महिला पक्राउ परिसकेका छन्।

    पर्यटक भिसामा आएर काममा संलग्न

    असार १० गते काठमाडौंका सितापाइल र डल्लु क्षेत्रबाट २४ जना बंगलादेशी नागरिक पक्राउ परेका थिए। उनीहरू पर्यटक भिसामा नेपाल आए पनि कपडा उद्योगमा काम गरिरहेको भेटिएको प्रहरीले जनाएको छ।

    अध्यागमन विभागका निर्देशक ढकालका अनुसार हाल करिब २० जना विदेशी विभागको हिरासतमा छन्।

    ब्ल्याकमेल र साइबर अपराधमा संलग्न

    गत जेठ १८ गते प्रहरीले ठमेल क्षेत्रबाट १५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूले सामाजिक सञ्जालमा विदेशी मोडल तथा युवतीका नक्कली फेसबुक खाता बनाएर बंगलादेशी र भारतीय नागरिकलाई फसाउने, ब्ल्याकमेल गर्ने र पैसा असुल्ने गरेको अनुसन्धानमा खुलेको थियो।

    त्यस्तै, जेठ २० गते नक्सालबाट दुई चिनियाँ नागरिक पक्राउ परेका थिए। उनीहरूले 'लाइभ हब' एपमार्फत नक्कली खाता सञ्चालन गरी विदेशी नागरिकसँग सम्पर्क बढाएर रकम माग्ने गरेको आरोप छ।

    नक्कली कागजात प्रयोग गरी भिसा सिफारिस

    हालै वाल्मीकि विद्यापीठको नक्कली कागजात प्रयोग गरी १० विदेशी नागरिकका लागि शिक्षा मन्त्रालयबाट भिसा सिफारिस गरिएको घटना पनि सार्वजनिक भएको थियो।

    ६ महिनामै २७२ विदेशी डिपोर्ट

    अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो छ महिनामा मात्रै २७२ विदेशी नागरिकलाई नेपालबाट डिपोर्ट गरिएको छ।

    यसअघि सन् २०२५ मा ५२३ विदेशीलाई डिपोर्ट गरिएको थियो। तीमध्ये ४०९ जना भिसा अवधि सकिएपछि पनि नेपालमा बसिरहेका थिए।

    सन् २०२५ मा डिपोर्ट गरिएकामध्ये:

    • १२० जना चिनियाँ,
    • ७५ जना बंगलादेशी,
    • ३५ जना अमेरिकी नागरिक थिए।

    लागुऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार, भिसा उल्लंघन तथा अन्य आपराधिक गतिविधिमा संलग्न विदेशीलाई नेपालले निष्कासन गर्दै आएको छ।

    ३६ देशका नागरिकलाई प्रवेश अस्वीकार

    अध्यागमन विभागका अनुसार सन् २०२५ मा ३६ मुलुकका ११६ विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको थियो। प्रवेश अस्वीकार गरिएकामध्ये भारतीय र चिनियाँ नागरिकको संख्या बढी थियो।

    भिसा अवधि समाप्त भएका, विगतमा शंकास्पद गतिविधिमा संलग्न रहेका, आपराधिक अभिलेख भएका वा सुरक्षा जोखिम मानिएका विदेशीलाई नेपाल प्रवेशमा रोक लगाइने गरिएको विभागले जनाएको छ।

    निर्देशक ढकालका अनुसार पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा नेपालबाट सबैभन्दा धेरै डिपोर्ट हुने विदेशी नागरिकमा चिनियाँ, बंगलादेशी, अमेरिकी, बेलायती र पाकिस्तानी नागरिक रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend