२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

घर सम्पन्नताको प्रमाणपत्र दिदा घुस

ईन्जिनियर बराल र सव ईन्जिनियर रोकायलाई पौने दुई लाख जरिवाना र आठ महिना कैद

ईन्जिनियर बराल र सव ईन्जिनियर रोकायलाई पौने दुई लाख जरिवाना र आठ महिना कैद

ऋणधन गरेर बल्ल बल्ल घर पुरा गरेर सम्पन्नताको प्रमाणपत्र लिन गयो महानगरवाट खटिएका ईन्जिनियर र प्राविधिकले नक्सा अनुसार यो र त्यो मिलेन भन्दै अत्तो थाप्दै रकम झार्ने सामान्य कुरा हो ।

आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • पोखरा- पोखरा महानगरपालिका कार्यालयको कमाउ धन्दामा गनिएका अनेक अखडा मध्ये घर नक्सापास विभाग पनि मुख्य हो । वडा कार्यालयदेखि महानगरको कार्यालयमा कार्यरत ईन्जिनियर  र प्राविधिकले निर्माण पुरा भएपछि सम्पन्नता दिनेक्रममा अनेक वखेडावाजी निकालेर सेवाग्राहीसँग मोटो रकम असुुल्दै आएपनि अधिकांश लेनदेन गुपचुप नै रहने गरेको छ । सामान्य नागरिकले घर बनाउँदा अनेकौं कारण देखाएर अड्काउने तर मापदण्ड विपरितका गगनचुम्वी महल बनाउँदा मोटो रकम कुम्ल्याएर सम्पन्नता दिने भ्रष्ट कर्मचारीहरुको कमाउ धन्दा नै हो । 
    पोखरामा मापदण्ड विपरित बनेका हजारौं घरहरुलाई हेर्दा प्रष्ट हुन्छ महानगरका प्राविधिक कर्मचारी र सम्वन्धित कर्मचारीहरुले कति भ्रष्टाचार गरेर रकम असुलेका छन भनेर । 
    ऋणधन गरेर बल्ल बल्ल घर पुरा गरेर सम्पन्नताको प्रमाणपत्र लिन गयो महानगरवाट खटिएका ईन्जिनियर र प्राविधिकले नक्सा अनुसार यो र त्यो मिलेन भन्दै अत्तो थाप्दै रकम झार्ने सामान्य कुरा हो । घरधनीसँग मोटो रकम असुल्न पल्किएका भ्रष्ट कर्मचारीहरुले खुलेआम कमाउ धन्दा चलाएपनि यस्तै भ्रष्टाचारको काण्डमा एउटा टिम भने कार्वाहीमा परेको छ । घुसकाण्डमा मुछिएर अख्तियारले मुद्दा चलाएका कर्मचारी मध्ये घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि घुस लिने क्रममा पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र विचौलिया सुरज कुँवर दोषी ठहरिएका हुन । 

    विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले पोखरा ७ मासवार घर भएका इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । घुसकाण्डका मतियार गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका कर्मचारी कुँवरलाई ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला गरिएको छ । 
    विषेश अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएकोले त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला भएको जानकारी दिए । 
    घुसकाण्डका अभियुक्तहरुको आग्रह र प्रलोभनमा परेर अदालतमा बयान फरेको आरोपमा मुद्दा चलाइएका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले भने सफाइ पाएका छन । अख्तियारमा दिएको बयानको अदालतमा प्रतिकूल हुनेगरी बकपत्र गरेको उजुरी थियो । नियोजित रुपमै बयान फेरेको प्रमाणित भएपनि उनीहरुलाई पनि भ्रष्टाचार मुद्दा चलाइएको थियो । 

    गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र दिने सर्तमा घुस लिँदालिँदै सब–इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रंगेहात पक्राउ परेका थिए । त्यसलगत्तै यही प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।

    घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेका थिए । २ लाख रुपैयाँ बुझाइसकेर थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा अख्तियारको टोलीले पिछा गर्दै पोखरा–५ मालेपाटनबाट उषाकिरण र सुरज पक्राउ गरेको थियो । 
    अख्तियारले अनुसन्धानपछि गत वैशाख २ गते २ इन्जिनियरसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा दायर भइसकेपछि बयान फेरेको आरोपमा अख्तियारले पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि पनि साउन १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
    उनीहरुले पोखरा–१ का मा बनेको घरको सम्पन्नताको प्रमाणपत्र दिनका लागि पोखरा महानगरपालिकामा फाइल पेश गर्दा यो मिलेन र त्यो मिलेन भनेर अड्काएर राखिएको थियो । सम्पन्नताको प्रमाणपत्र नपाएपछि भौतारिदै हिडेका उनीहरु समक्ष सव इन्जिनियर उषाकिरणले ५ लाख रुपैयाँ दिए काम हुने प्रस्ताव माथिबाटै आएको वताएकी थिईन । घुस रकम अझै बार्गेनिङ हुँदै जाँदा साढे ४ लाख रुपैयाँ दुई पटक गरेर दिने सहमति घरधनी र इन्जिनियरबीच भएको थियो ।
    पहिलो पटकमा घरधनीले बिचौलियाको काम गर्ने कन्सल्टेन्सीका कुँवरमार्फत २ लाख रुपैयाँ बरालकै खातामा जम्मा गरेका थिए । त्यो रकम पछि अनुसन्धानको क्रममा इन्जिनियर बरालको खातामा गएको देखिएको थियो ।
    पछिल्लो पटक बाँकी रकम २ लाख रुपैयाँ भनिए पनि डेढ लाख रुपैयाँ दिए पुग्ने इन्जिनियरसँग सहमति भएपछि घरधनीले प्रमाणपत्र पाएका थिए । घर निर्माण प्रमाण पत्र लिन घुस दिनुपर्ने भएपछि सेवाग्राही अख्तियारमा पुगेका थिए ।
    अख्तियारकै समन्वयमा भएको अप्रेसनमा पहिलो पटक २ लाख रुपैयाँ बुझाउँदा भने इन्जिनियर रंगेहात पक्राउ पर्नबाट उम्किएका थिए ।
    बाँकी डेढ लाख रुपैयाँ बुझाउने क्रममा अख्तियारले रोकायासहित बिचौलियाको काम गर्ने कुँवरलाई गत चैत २८ गते राति रंगेहात पक्राउ गरेको हो । उनीहरुकै बयानका आधारमा मुख्य इन्जिनियर बराल पक्राउ परेका थिए । त्यसपछि अख्तियारले मुद्दा अगाडि बढाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend