काठमाडौं - सर्वोच्च अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइका क्रममा व्यवसायी दीपक भट्टसँग सम्बन्धित विभिन्न मुद्दाका सक्कल फाइल झिकाउन आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेर थुनामा रहेका पौडेलको रिहाइको माग गर्दै उनकी पत्नी दोमाया पौडेलले गत असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि दोस्रोपटक सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित मुद्दाका मिसिल झिकाउने आदेश दिएको हो।
इजलासले सबै फाइल एकसाथ पेस गरी सुनुवाइ गर्न असार १८ गते पेसी तोकेको छ।
सर्वोच्चको आदेशमा भनिएको छ, “यसमा देहायबमोजिमका मुद्दाको अभियोगपत्रसहितको सक्कल फाइल इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी सम्बन्धित अदालतबाट झिकाई मिति २०८३/०३/१८ गते पेसी तोकी नियमानुसार पेस गर्नू।”
आदेशअनुसार विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दा, उच्च अदालत पाटनमा रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दा, काठमाडौं जिल्ला अदालतमा विचाराधीन बिमासम्बन्धी कसुर मुद्दा, धितोपत्रसम्बन्धी कसुरका दुई मुद्दा तथा व्यवसायी दीपक भट्टले गृह मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सम्बन्धी मिसिलसमेत झिकाएर एकैसाथ राख्न आदेश गरिएको छ।
सर्वोच्चले दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटसम्बन्धी आदेश र त्यसको छिनुवा मिसिल पनि अभिलेख शाखाबाट झिकाई अवलोकनका लागि संलग्न राख्न निर्देशन दिएको छ।
अब असार १८ गते हुने सुनुवाइमा दीपक भट्टसँग सम्बन्धित विभिन्न मुद्दाका तथ्य र आदेशहरू अध्ययन गर्दै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि थप सुनुवाइ हुने भएको छ।