२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

‘काम गर्न नदिएपछि कसरी बाँच्ने?’ माइतीघरमा दृष्टिविहीनहरूको १० दिनदेखि आन्दोलन

‘काम गर्न नदिएपछि कसरी बाँच्ने?’ माइतीघरमा दृष्टिविहीनहरूको १० दिनदेखि आन्दोलन

बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं — माइतीघर मण्डलामा दृष्टिविहीन नागरिकहरूको आन्दोलन बुधबार १०औँ दिनमा पुगेको छ। जीवनयापनको आधार बनेको सडक व्यापार र सडकमा गीत गाउने माध्यमसमेत रोकिएपछि आफूहरू रोजीरोटीको संकटमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

    आन्दोलनमा सहभागी गीता तामाङ र भीमबहादुर बोहरा अहिले माइतीघरमै दिन बिताइरहेका छन्। उनीहरू सरकारसँग संवाद र दीर्घकालीन समाधानको माग गर्दै धर्नामा बसेका छन्। तर हालसम्म सरकारबाट औपचारिक संवादको पहल नभएको उनीहरूको गुनासो छ।

    सरकारको ध्यानाकर्षण गराउन उनीहरूले बुधबार विभिन्न प्रमुख राजनीतिक दलका कार्यालयमा पुगेर आफ्ना माग सुनुवाइ गरिदिन आग्रहसमेत गरेका छन्।

    ‘हामीले के गरेर देशको इज्जत गयो?’

    तेह्रथुमको आठराई गाउँपालिका–५ स्थायी घर भएकी गीता तामाङ विगत लामो समयदेखि काठमाडौंमा बस्दै आएकी छन्। श्रीमान्को एक वर्षअघि निधन भएपछि दुई छोरीको पालनपोषणको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आएको छ।

    उनका अनुसार केही समयअघि सडकमा गीत गाउँदै गर्दा प्रहरीले त्यहाँ बस्न र गाउन नपाइने भन्दै हटाएको मात्र होइन, ‘तपाईंहरूले गर्दा देशको इज्जत गयो’ भन्ने टिप्पणीसमेत गरेको थियो।

    त्यही घटनाले आफूलाई गहिरो चोट पुगेको बताउँदै उनी प्रश्न गर्छिन्, “हामीले के गरेर देशको इज्जत गयो?”

    तामाङले यसअघि फुटपाथमा कस्मेटिक सामग्री बेचेर जीविकोपार्जन गरेकी थिइन्। सडक व्यापार हटाइएपछि उनले गीत गाएर परिवार चलाउन थालेकी थिइन्। तर पछिल्लो समय त्यो माध्यम पनि रोकिएपछि जीविकोपार्जन संकटमा परेको उनको भनाइ छ।

    उनले स्नातक तह उत्तीर्ण गरेको, कम्प्युटर तथा साबुन र धुप बनाउने तालिम लिएको बताउँदै सीपअनुसारको रोजगारीको अवसर उपलब्ध गराइदिन सरकारसँग माग गरेकी छन्।

    ‘अब परिवार कसरी पाल्ने?’

    सुर्खेतको भेरीगंगा नगरपालिका–१० का भीमबहादुर बोहरा करिब १५ वर्षदेखि काठमाडौंमा बस्दै आएका छन्। उनी पनि पहिले सडक किनारमा कस्मेटिक सामग्री बेच्थे। सडक व्यापार हटाइएपछि गीत गाएर जीविकोपार्जन गर्दै आएका उनी अहिले त्यो अवसरसमेत खोसिएको बताउँछन्।

    उनका अनुसार सडक व्यापार गर्ने क्रममा नगर प्रहरीले ३६ पटकसम्म नियन्त्रणमा लिएको थियो। दिनभर हिरासतमा राखेर बेलुका छाड्ने गरिएको अनुभव सुनाउँदै उनले सरकारले वैकल्पिक व्यवस्था नगरी सडकबाट हटाएको गुनासो गरे।

    छ जनाको परिवारको जिम्मेवारी आफूले नै सम्हालिरहेको उल्लेख गर्दै उनले भने, “काम गर्न नदिएपछि अब परिवार कसरी पाल्ने?”

    रोजगारी वा उचित निर्वाह भत्ताको माग

    आन्दोलनरत दृष्टिविहीनहरूको मुख्य माग सरकारले रोजगारीको व्यवस्था गर्नुपर्ने, सीप भएका व्यक्तिलाई उपयुक्त रोजगारी उपलब्ध गराउनुपर्ने र सम्भव नभए मासिक २० देखि २५ हजार रुपैयाँसम्मको जीवन निर्वाह भत्ता दिनुपर्ने रहेको छ।

    हाल सरकारले दृष्टिविहीन नागरिकलाई उपलब्ध गराउँदै आएको मासिक दुई हजार १०० रुपैयाँ भत्ता जीवनयापनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।

    उनीहरूका अनुसार यदि वैकल्पिक व्यवस्था गर्न नसकिने हो भने पहिलेजस्तै स्वतन्त्र रूपमा सडकमा व्यापार वा गीत गाएर जीविकोपार्जन गर्न दिनुपर्छ।

    आन्दोलन थप कडा बनाउने चेतावनी

    दृष्टिविहीन अधिकारकर्मी लक्ष्मी चन्दका अनुसार काठमाडौंमा करिब दुई हजार दृष्टिविहीन नागरिक रहेको अनुमान छ, जसमध्ये झन्डै आधा सडकमा आधारित पेशाबाट जीविकोपार्जन गर्दै आएका छन्।

    आन्दोलनरत पक्षले हाल दिनको समयमा मात्रै माइतीघर मण्डलामा धर्ना दिइरहेको छ। तर सरकारले माग सम्बोधन नगरे आगामी दिनमा दिनरात धर्ना तथा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend