डलास (अमेरिका)- फिफा विश्वकप–२०२६ अन्तर्गत पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा गएराति सम्पन्न खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै दुई पटकको विश्व विजेता फ्रान्सलाई स्तब्ध बनाएको हो।
खेलको सुरुआतदेखि नै बल नियन्त्रण र आक्रमणमा प्रभावशाली देखिएको स्पेनले २२औँ मिनेटमा अग्रता लिएको थियो। फ्रान्सका डिफेन्डर लुकास डिग्नेले युवा स्टार लामिन यमालमाथि पेनाल्टी क्षेत्रमा फाउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई पेड्रो पोरोले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
पहिलो हाफमा पछाडि परेको फ्रान्सले दोस्रो हाफमा बराबरी गोलका लागि लगातार आक्रमण गरे पनि स्पेनको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन। खेलको ५८औँ मिनेटमा स्पेनले अर्को गोल थप्दै आफ्नो जित सुनिश्चित गर्यो। मिकेल ओयार्जाबलले गरेको उत्कृष्ट फिनिसिङसँगै स्पेनले अग्रता दोब्बर बनाएको थियो।
त्यसपछि फ्रान्सले केलियन एमबाप्पेलगायतका खेलाडीमार्फत फर्कने प्रयास गरे पनि कुनै अवसरलाई गोलमा परिणत गर्न सकेन। निर्धारित ९० मिनेटसम्म फ्रान्स गोलविहीन रहँदा स्पेन २–० ले विजयी हुँदै फाइनलमा प्रवेश गर्यो।
यस जितसँगै सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप जितेको स्पेन १६ वर्षपछि पुनः विश्वकप फाइनलमा पुगेको छ। उता, प्रतियोगिताको प्रमुख उपाधि दाबेदार मानिएको फ्रान्स भने सेमिफाइनलमै रोकिएको छ। साथै, दुई पटकको विश्व विजेता फ्रान्स लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने अवसरबाट पनि वञ्चित भएको छ।
अब स्पेनले विश्वकप उपाधिका लागि दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने फुटबल समर्थकहरू बहुप्रतीक्षित फाइनलको प्रतीक्षामा छन्।