२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

अमेरिकाले इरानविरुद्ध पुनः नौसैनिक नाकाबन्दी सुरु

ट्रम्पले हर्मुज जलमार्गमा २०% शुल्क लगाउने योजना फिर्ता लिए

ट्रम्पले हर्मुज जलमार्गमा २०% शुल्क लगाउने योजना फिर्ता लिए

बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने सम्पूर्ण मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो अघिल्लो प्रस्ताव फिर्ता लिएका छन्। शुल्कको सट्टा खाडी राष्ट्रहरूसँग ठूलो व्यापार तथा लगानी साझेदारी गर्ने रणनीति अपनाइने उनले बताएका छन्।

    तर ट्रम्पको यो घोषणासँगै अमेरिकाले इरानमाथिको सैन्य दबाब भने झन् बढाएको छ। घोषणा भएको केही घण्टामै अमेरिकी नौसेनाले इरानी बन्दरगाहहरू लक्षित गर्दै पुनः नौसैनिक नाकाबन्दी सुरु गरेको छ। अमेरिकी प्रशासनका अनुसार यो कदम हर्मुज जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायात सुरक्षित बनाउन र व्यावसायिक जहाजमाथि हुन सक्ने आक्रमण रोक्न चालिएको हो।

    पछिल्ला केही सातायता अमेरिका र इरानबीच सैन्य तनाव तीव्र बन्दै गएको छ। दुवै पक्षबीच भएका आक्रमण र प्रतिआक्रमणका कारण हर्मुज जलमार्गबाट सञ्चालन हुने तेल तथा ग्यास बोकेका ट्याङ्करहरूको आवागमन उल्लेखनीय रूपमा प्रभावित भएको छ। यसले विश्व बजारमा कच्चा तेलको मूल्यमा पुनः दबाब सिर्जना गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।

    अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले व्यावसायिक जहाजमाथि आक्रमण गर्न इरानले प्रयोग गर्न सक्ने सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले थप हवाई आक्रमण सञ्चालन गरिएको जनाएको छ। सेन्टकमका अनुसार यो लगातार तेस्रो रातको सैन्य कारबाही हो।

    यता, इरानी सरकारी सञ्चारमाध्यमहरूले बुशेहर आणविक ऊर्जा केन्द्र रहेको क्षेत्रसहित देशका विभिन्न सहरमा विस्फोटका आवाज सुनिएको बताएका छन्। इरानले भने बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी जवाफी कारबाही गरेको दाबी गरेको छ। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

    राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत हर्मुज जलमार्गमा प्रस्तावित २० प्रतिशत शुल्क हटाउने निर्णय सार्वजनिक गरेका हुन्। उनले शुल्कभन्दा व्यापार र लगानीमार्फत खाडी राष्ट्रहरूसँगको सम्बन्ध अझ सुदृढ बनाइने उल्लेख गर्दै ती सम्झौताहरू "विशाल" र भविष्यका लागि लाभदायी हुने दाबी गरेका छन्। तर, प्रस्तावित सम्झौताबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।

    वासिङ्टनमा इराकका प्रधानमन्त्री अली अल–जैदीसँग भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले विश्वका लागि महत्वपूर्ण समुद्री मार्गको सुरक्षा केवल अमेरिकाको जिम्मेवारी हुन नहुने बताएका थिए। खाडी क्षेत्रका नेताहरूसँग भएको पटक–पटकको छलफल र आग्रहपछि शुल्क सम्बन्धी निर्णय परिवर्तन गरिएको उनको भनाइ छ।

    ट्रम्पको निर्णयप्रति प्रतिक्रिया दिँदै इरानले हर्मुज जलमार्गमा आफ्नो प्रभाव र नियन्त्रण यथावत रहने स्पष्ट पारेको छ। इरानका उपपरराष्ट्रमन्त्री काजिम गरिवआबादीले अमेरिकाले पुनः नौसैनिक नाकाबन्दी सुरु गर्नु दुई देशबीच यसअघि भएको युद्धविराम समझदारीको उल्लंघन भएको आरोप लगाएका छन्।

    स्मरणीय छ, अमेरिकाले गत अप्रिलमा पहिलोपटक इरानविरुद्ध समुद्री नाकाबन्दी लागू गरेको थियो। पछि जुन महिनामा दुवै पक्षबीच भएको समझदारीपछि उक्त नाकाबन्दी हटाइएको थियो। तर पछिल्ला घटनाक्रमसँगै हर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका–इरान सम्बन्ध फेरि तनावपूर्ण बनेको छ।

    विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्गबाट ओसारपसार हुने भएकाले हर्मुज क्षेत्रमा उत्पन्न अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ। पछिल्ला दुई महिनामा यस मार्ग हुँदै हुने व्यापारिक गतिविधि उल्लेखनीय रूपमा सुस्त भएको अन्तर्राष्ट्रिय समुद्री स्रोतहरूले जनाएका छन्।

    यसबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानलाई चेतावनी दिँदै इजरायलमाथि कुनै पनि आक्रमण भए त्यसको कडा र शक्तिशाली जवाफ दिइने बताएका छन्। मध्यपूर्वमा बढ्दो तनावले आगामी दिनमा क्षेत्रीय सुरक्षा र विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend