२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

कप्तानगञ्ज घटनापछि देवानगञ्ज र हरिनगरमा निषेधाज्ञा कायम, पाँच जनाभन्दा बढी भेला हुन रोक

कप्तानगञ्ज घटनापछि देवानगञ्ज र हरिनगरमा निषेधाज्ञा कायम, पाँच जनाभन्दा बढी भेला हुन रोक

मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • मोरङ/सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाभर निषेधाज्ञालाई निरन्तरता दिएको छ।

    गृहमन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारीसहित कोशी प्रदेश प्रहरी नेतृत्वमा व्यापक हेरफेर गरेपछि नवनियुक्त सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै दुवै स्थानीय तहमा लागू गरिएको निषेधाज्ञा यथावत् रहने जानकारी दिएका हुन्।

    प्रशासनद्वारा जारी आदेशअनुसार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। उक्त अवधिमा निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा–जुलुस गर्न वा सार्वजनिक रूपमा समूहगत गतिविधि सञ्चालन गर्न रोक लगाइएको छ।

    प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार रु. ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद, अथवा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। स्थानीय बासिन्दालाई शान्ति–सुरक्षा कायम राख्न प्रशासन र सुरक्षा निकायसँग सहयोग गर्न पनि आग्रह गरिएको छ।

    छानबिन समिति सक्रिय

    घटनाको सत्यतथ्य पत्ता लगाउन गठन गरिएको छानबिन समितिले आफ्नो काम सुरु गरिसकेको छ। समितिका पदाधिकारीहरूले सोमबार साँझ विराटनगरका विभिन्न अस्पतालमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै घटनासम्बन्धी प्रारम्भिक जानकारी संकलन गरेका छन्।

    समितिले घाइतेहरू, प्रत्यक्षदर्शी तथा सम्बन्धित पक्षसँग भेटघाट गरी घटनाको वास्तविक कारण, घटनाक्रम र त्यसपछिका परिस्थितिबारे जानकारी लिइरहेको जनाएको छ।

    घटनास्थलको निरीक्षण गरिने

    छानबिन समितिले अब घटनास्थल कप्तानगञ्जको स्थलगत निरीक्षण गर्ने तयारी गरेको छ। घटनास्थलको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन तथा उपलब्ध प्रमाणको अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पारिने जनाइएको छ।

    यसैबीच, सुरक्षा निकायले देवानगञ्ज र हरिनगर क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा बलको परिचालनलाई निरन्तरता दिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन संवेदनशील स्थानहरूमा सुरक्षा निगरानी कडा पारिएको प्रशासनले जनाएको छ।

    कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend