काठमाडौं — लघुवित्त पीडितहरूले आफ्ना माग पूरा गराउन थालेको आन्दोलनलाई थप कडा बनाउँदै साउने झरीकै बीच काठमाडौंको माइतीघर मण्डलामा सडक किनारमै रात बिताएका छन्। सरकारसँग पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले झरीको पर्वाह नगरी आन्दोलनलाई निरन्तरता दिएका हुन्।
संघर्षरत पीडितहरूमध्ये ४२ जना सामूहिक आमरण अनसनमा छन्। उनीहरूले सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने मुख्य माग राख्दै मंगलबारदेखि अनिश्चितकालीन आमरण अनसन सुरु गरेका हुन्।
करिब डेढ सय जना आन्दोलनकारी माइतीघरमा भेला भएका छन्। अनसनमा नबसेका अन्य सहभागीहरूले भने सडकमै खाना खाएर आन्दोलनमा साथ दिएका छन्। साउने झरीका कारण सडक जलमग्न हुँदा उनीहरू त्रिपाल र प्लास्टिकको सहारामा रात कटाउन बाध्य भएका थिए। कतिपयले सामान्य ओतसमेत नपाएर पसलका सटरअगाडि पेटीमा बसेर वा सुतेर रात बिताएका थिए।
आन्दोलनकारीहरूको भनाइमा सर्वोच्च अदालतले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितसँग भएको सहमति कार्यान्वयन गर्न परमादेश जारी गरिसकेको छ। तर अदालतको आदेश कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै उनीहरू थप दबाब सिर्जना गर्न आमरण अनसनमा बसेका हुन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवाली सहित देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू अनसनमा सहभागी छन्। आन्दोलनमा सहभागीहरू चामल, ग्यास सिलिन्डर, सिरक, डस्नालगायत दैनिक आवश्यक सामग्री बोकेर काठमाडौं आएका छन्, जसले आन्दोलन लामो समयसम्म जारी राख्ने तयारी गरेको संकेत दिएको छ।
समितिका उपाध्यक्ष मिनप्रसाद चौलागाईंले सरकारले पीडितका समस्या समाधान नगरेसम्म आन्दोलन नरोकिने बताए। उनका अनुसार विगत लामो समयदेखि आन्दोलन भइरहे पनि सरकारले कुनै ठोस पहल नगरेकाले बाध्य भएर आमरण अनसनको बाटो रोज्नुपरेको हो।
लघुवित्त पीडितहरूले अत्यधिक ब्याजदर, असुली प्रक्रियामा भएको दुरुपयोग, ऋणीमाथिको मानसिक दबाब तथा सर्वोच्च अदालतको आदेश कार्यान्वयनलगायतका माग पूरा गर्न सरकारसँग आग्रह गर्दै आएका छन्। उनीहरूले वार्ताभन्दा कार्यान्वयनलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।