२०८३, भाद्र १ गते

समय लोड हुँदैछ...

रौतहटमा लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

रौतहटमा लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • रौतहट- देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा आज तीन बालबालिका बेपत्ता भएका छन्।

    दिउँसो करिब २ बजे खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालबालिकाको खोजी तथा उद्धार कार्य जारी रहे पनि अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।

    जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार बेपत्ता हुनेमा स्थानीय करमे आलमका छोरा रमतुलाह, हिसी अकतरकी छोरी सबनम खातुन र शेख खुर्सैदकी छोरी रौशन खातुन रहेका छन्। उनीहरू सबै १० वर्षभन्दा कम उमेरका रहेको प्रहरीले जनाएको छ।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा सात जना प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसैगरी, जिल्लास्थित सशस्त्र प्रहरी बलका १४ जनाको टोलीसमेत ‘रबर बोट’सहित खोजी तथा उद्धार कार्यमा परिचालित भएको छ।

    सुरक्षाकर्मीका साथै स्थानीयवासीले पनि लालबकैया खोलामा बेपत्ता बालबालिकाको खोजी गरिरहेका छन्। घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणमा रहेको प्रहरीले जनाएको छ।

    बेपत्ता बालबालिकाको खोजी कार्यलाई तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend