धादिङ- धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ २५ यात्रु लिएर गएको बस सम्पर्कविहीन भएको छ। बुधबार बिहान धादिङबेँसीबाट गोसाइँकुण्डका लागि रिजर्भमा छुटेको बा ५ ख १२५० नम्बरको बेस्ट बस बस र त्यसमा सवार यात्रु तथा चालकसँग सम्पर्क हुन नसकेको हो।
धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित उक्त बसमा यात्रु र चालकसहित २६ जना रहेको बताइएको छ। बस गोसाइँकुण्डतर्फ जाने क्रममा सम्पर्कविहीन भएपछि यातायात समितिले सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी खोजी कार्यका लागि सहयोग मागेको छ।
चालकसँग अन्तिम पटक बिहान सम्पर्क
धादिङ मण्डली यातायात प्रालिका प्रबन्धक राजेश प्रजापतिका अनुसार रसुवा क्षेत्रमा बाढी आएको जानकारी पाएपछि उनले बुधबार बिहान करिब १०ः३५ बजे बस चालक छविलाल श्रेष्ठलाई फोन गरेका थिए।
त्यस समयमा चालकको मोबाइलमा फोनको घण्टी गए पनि त्यसपछि पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा फोन उठ्न नसकेको प्रजापतिले बताएका छन्।
बसका चालक नीलकण्ठ नगरपालिका–१२ निवासी छविलाल श्रेष्ठ हुन्। उनी उक्त बसका साहु तथा धादिङ मण्डली यातायात प्रालिका सञ्चालकसमेत रहेको जनाइएको छ।
बस र यात्रुहरूको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।
बसमा को–को थिए?
उक्त बसमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सवार रहेको बताइएको छ।
त्यस्तै, नीलकण्ठ नगरपालिका–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल बसमा रहेको बताइएको छ।
यसैगरी सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट तथा नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना पनि यात्रु रहेको जनाइएको छ।
रसुवामा बाढी आएपछि परिवारमा चिन्ता
बस गोसाइँकुण्डतर्फ गएको र सोही क्षेत्रमा बाढी तथा विपद्को खबर सार्वजनिक भएपछि यात्रुका परिवार तथा आफन्तमा चिन्ता बढेको छ।
बस कुन स्थानसम्म पुगेको थियो, बाटोको कुन क्षेत्रमा रहेको थियो वा दुर्घटनामा परेको हो कि होइन भन्नेबारे अहिलेसम्म कुनै पुष्टि हुन सकेको छैन।
यातायात समितिले बसको पछिल्लो अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। सुरक्षा निकायबाट खोजी तथा अवस्थाबारे थप विवरण प्राप्त भएपछि मात्र बस र यात्रुको वास्तविक अवस्था स्पष्ट हुने बताइएको छ।
जानकारी भए तत्काल सम्पर्क गर्न आग्रह
धादिङ मण्डली यातायात समितिका प्रबन्धक राजेश प्रजापतिले बसमा सवार यात्रु वा चालकसँग पछिल्लो समय सम्पर्क भएका व्यक्ति, बसलाई बाटोमा देखेका व्यक्ति वा बसको अवस्थाबारे कुनै जानकारी भएका व्यक्तिलाई तत्काल यातायात समिति वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।
बा ५ ख १२५० नम्बरको बस र त्यसमा सवार यात्रुहरूको अवस्थाबारे आधिकारिक विवरण प्राप्त हुन बाँकी छ। खोजी तथा उद्धारसम्बन्धी थप विवरण प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।