२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

रसुवामा बाढीपीडितको उद्धार जारी, सेनाका पाँच हेलिकोप्टर परिचालन

रसुवामा बाढीपीडितको उद्धार जारी, सेनाका पाँच हेलिकोप्टर परिचालन

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरी उद्धार कार्य जारी राखेको छ।

    नेपाली सेनाका अनुसार बिहीबार मात्रै प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरिएको छ। बिहीबार बिहान मैलुङस्थित टनेलबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। हेलिकोप्टरबाहेक अन्य माध्यमबाट थप ६३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

    बाढीबाट प्रभावित क्षेत्रको अवस्था गम्भीर रहेकाले नुवाकोटदेखि चितवनसम्म २ हजारभन्दा बढी सैनिक खोज तथा उद्धार र राहत वितरणमा परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।

    सेनाका अनुसार गएराति मात्रै ११ वटा टोलीले जमिनमार्फत प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्य गरेका थिए। आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन सेनाका ११ वटा ट्रक परिचालन गरिएको छ।

    हालसम्म चार सटल राहत सामग्री टिमुरे पुगिसकेको सेनाले जनाएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता रहेकाले राहत सामग्री वितरणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।

    त्यसैगरी, नेपाली सेनाले मेडिकल टोली थप गरी त्रिशूली क्षेत्रमा घाइतेहरूको उपचार समेत गरिरहेको जनाएको छ। उद्धारसँगै घाइतेको उपचार तथा प्रभावितहरूलाई आवश्यक राहत उपलब्ध गराउने कामलाई तीव्रता दिइएको सेनाको भनाइ छ।

    भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा तथा आसपासका जिल्लामा ठूलो क्षति पुगेपछि नेपाली सेना, सुरक्षा निकाय तथा अन्य उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। प्रभावित क्षेत्रमा अझै उद्धारको आवश्यकता रहेकाले हेलिकोप्टर तथा जमिनबाट उद्धार कार्य जारी रहने सेनाले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend