२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

तिब्बतमा ५ जनाको मृत्यु, ५५८ जना अझै बेपत्ता

तिब्बतमा ५ जनाको मृत्यु, ५५८ जना अझै बेपत्ता

शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं - नेपाल–चीन सीमाक्षेत्रमा गत बुधबार आएको भीषण बाढी र पहिरोका कारण तिब्बततर्फ ठूलो मानवीय क्षति भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बाढी तथा पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्।

    बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहे पनि प्रभावित क्षेत्रमा थप प्राकृतिक विपद्को जोखिम देखिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

    यसैबीच, पहिरोका कारण नदी थुनिएर बनेको ठूलो ताल फुट्ने उच्च जोखिममा रहेको भन्दै चीनले सतर्कता अपनाउन चेतावनी दिएको छ। उक्त ताल फुटेमा वा एक्कासि पानीको बहाव बढेमा तल्लो क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेको बताइएको छ।

    चीनको राज्य प्रसारक सीसीटीभीका अनुसार नेपाल–तिब्बत सीमा नजिकै पहिरोका कारण बनेको उक्त तालमा शुक्रबारसम्म करिब २५ लाख घनमिटर पानी जम्मा भइसकेको थियो।

    पहिरोका कारण नदीको बहाव रोकिएपछि प्राकृतिक रूपमा बनेको जलाशयलाई अहिले चिनियाँ अधिकारीहरूले उच्च जोखिमका रूपमा निगरानी गरिरहेका छन्। तालको पानी निरन्तर बढ्दै गएमा प्राकृतिक बाँध भत्किन सक्ने र त्यसबाट ठूलो परिमाणमा पानी तथा भग्नावशेष तलतिर बग्न सक्ने आशंका गरिएको छ।

    चीनको जलस्रोत मन्त्रालयका अनुसार चोचेन खोला र पुर्पु त्साङपो नदीको संगम क्षेत्रमा पहिरोका कारण नदी थुनिएर उक्त ताल बनेको हो। पानीको सतह बढ्दै गएपछि ताल भरिएर बग्न थालेको समेत मन्त्रालयले जनाएको छ।

    नेपालतर्फ पनि ठूलो क्षति

    गत बुधबार तिब्बतबाट आएको भीषण बाढीले नेपालतर्फको रसुवाको भोटेकोसी नदी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ।

    बाढीको प्रभाव रसुवासँगै नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लासम्म परेको छ। बाढीले सडक, पुल, विद्युत् आयोजना, सञ्चार संरचना तथा नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरोमा परी नेपालतर्फ ४८९ जनाको मृत्यु पुष्टि भएको छ भने कम्तीमा एक हजार जना बेपत्ता रहेको बताइएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको अनुमान छ।

    पुनः बाढी आउन सक्ने जोखिम

    तिब्बततर्फ पहिरोले बनाएको तालमा पानीको मात्रा बढ्दै गएपछि नेपालतर्फ समेत थप बाढीको जोखिम देखिएको छ। विशेषगरी भोटेकोसी तथा त्यससँग जोडिएका नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक देखिएको छ।

    प्राकृतिक रूपमा बनेको तालको बाँध कमजोर भएर फुटेमा छोटो समयमा ठूलो परिमाणमा पानी तलतिर आउन सक्छ। पानीसँगै ढुंगा, माटो, बालुवा तथा पहिरोको भग्नावशेष बग्ने भएकाले यसको प्रभाव सामान्य बाढीभन्दा अझ विनाशकारी हुनसक्ने विज्ञहरूको भनाइ छ।

    यसकारण नेपाल–चीन सीमाक्षेत्रदेखि नदीको तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई सम्भावित जोखिमप्रति सचेत रहन र नदी किनारमा नजान आग्रह गरिएको छ।

    चीनले तालको पानीको सतह र प्राकृतिक बाँधको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। नेपालतर्फ पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय तथा सम्बन्धित निकायले नदीको बहाव र सीमाक्षेत्रको अवस्थाबारे निगरानी बढाउनुपर्ने देखिएको छ।

    बुधबारको बाढीबाट नेपाल र तिब्बत दुवैतर्फ ठूलो मानवीय क्षति भएपछि अहिले उद्धारसँगै सम्भावित अर्को विपद् रोकथाम मुख्य चुनौती बनेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend