काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । बाढीमा परी ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीपछि राहत तथा उद्धारसँगै सम्पर्कविहीनको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य भइरहेको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन भएका छन् ।
जसमध्ये नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् ।
बाढीका कारण कतिपय स्थानमा सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त भएकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ ।
एक हजार २०४ जनाको मृत्यु
भोटेकोशी बाढीमा परी हालसम्म एक हजार २०४ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार प्रभावित विभिन्न जिल्लामा ठूलो संख्यामा शव फेला परेका छन् ।
हालसम्म चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।
सेनाले ४ हजारभन्दा बढीको हवाई उद्धार गर्यो
विपद्का कारण सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकतामा राखेको छ ।
नेपाली सेनाले हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिक गरी ४ हजार ३६४ जनाको हवाई उद्धार गरेको छ ।
खोज तथा उद्धारका क्रममा सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ । बुधबार मात्रै सेनाले ८० वटा हवाई उडान गरेको प्राधिकरणले जनाएको छ ।
निजी क्षेत्रबाट समेत २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग भइरहेको छ । सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट उद्धार गर्नुका साथै राहत सामग्री पुर्याउने काम जारी छ ।
विभिन्न क्षेत्रका हजारौँ सम्पर्कविहीन
प्राधिकरणको विवरणअनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन् ।
त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका ३ तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
नुवाकोटबाट १ हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका नेपाली १६४ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
यसैगरी जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका ३, क्वारेन्टिइन कार्यालयका ३, जनप्रतिनिधि ७, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका १ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।
राहत तथा स्वास्थ्य सामग्री पठाउने क्रम जारी
बाढीबाट प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम भइरहेको छ ।
सडक तथा सञ्चार सम्पर्कविच्छेद भएका क्षेत्रमा हवाई माध्यमबाट राहत सामग्री पुर्याउने तथा उद्धार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
भोटेकोशी बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी निकाय निरन्तर उद्धार र राहत कार्यमा परिचालित छन् ।
४ हजारभन्दा बढी नागरिक अझै सम्पर्कविहीन रहेकाले उनीहरूको खोजीलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।