२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

भोटेकोसी बाढीका अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने बागमती सरकारको निर्णय

भोटेकोसी बाढीका अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने बागमती सरकारको निर्णय

बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • हेटौँडा- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित भई अभिभावक गुमाएका बालबालिकालाई आवास सुविधासहित कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको छ।

    हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीका कारण अभिभावकविहीन भएका बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता भरत केसीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित क्षेत्रका अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले जिम्मा लिने जानकारी दिए।

    उनका अनुसार बाढीका कारण कति बालबालिकाले अभिभावक गुमाएका छन् भन्ने तथ्यांक संकलन गरिनेछ। तथ्यांकका आधारमा पहिचान भएका बालबालिकालाई आवासको व्यवस्थासहित कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ।

    प्रवक्ता केसीले विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित गर्न प्रदेश सरकारले यस्तो निर्णय गरेको बताए। बाढी तथा पहिरोजस्ता विपद्का कारण शिक्षा र संरक्षणबाट वञ्चित हुन सक्ने बालबालिकालाई राज्यको संरक्षणमा राख्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो।

    जिल्ला र स्थानीय तहलाई नै विपद् कोषको रकम

    मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत गरेको छ।

    प्रवक्ता केसीका अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक रकम जिल्ला र स्थानीय तहलाई नै निकासा गर्नेगरी कार्यविधि संशोधन गरिएको हो।

    विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन स्थानीय तह र जिल्ला तहबाटै आवश्यक रकम परिचालन गर्न सकिने व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ।

    भोटेकोसी बाढीबाट बागमती प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रदेश सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend