ताप्लेजुङ — ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलामा पुगेको थियो।
दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी गराएका थिए।
प्रहरीका अनुसार ट्याक्टर भने पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा फेला परेको छ। ट्याक्टर चालक समीर बराइली र सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए।
बेपत्ता दुवै जनाको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।
ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र घटनाबारे कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ।