पोखरा-अनेक विवादित प्रकरणमा मुछिदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई आफ्नो औषधि पसलवाट लागूऔषध बिक्री गरेको अभियोगमा पक्राउ गरेको छ । डेढ महिना अघि लागूऔषधसहित पक्राउ परेका एक युवकले बरामद लागूऔषध ढाकाकुमारको पसलवाट किनेको बयान दिएपछि प्रहरीले अनुसन्धानको लागि उनलाई पक्राउ गरेको हो । डा. ढाकाकुमारको पोखरा महानगरपालिका ९, पृथ्वीचोकमा दिया फार्मेसी रहेको छ । रास्वपाको सांसद हुँदा कहिले सरकारीको रकम अपचलन गरेको त कहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग स्वास्थ्यमन्त्री बन्नका लागि करोडौं रुपयाँ मागेको खेपेका ४८ वर्षीय डा. श्रेष्ठ अहिले लागूऔषध कारोवारमा मुछिन पुगेका छन । दुर्गा प्रसाईसँग रास्वपाको कोर टिमलाई रकम वुझाउन रकम मागेको अडियो सार्वजनिक भएपछि डा. ढाकाकुमारको चौतर्फि आलोचना र विरोध भएपछि पार्टीले उनलाई निस्कासन गरेको थियो ।
गत साउन ३ गते पोखरा २ बसपार्कबाट ९७ चक्की त्रुपिनसहित पक्राउ परेका ४२ वर्षीय प्रकाश थापामगरले उक्त औषधि ढाकाकुमारको दिया फार्मेसीबाट किनेको प्रहरी सामु वयान दिएका थिए । अभियुक्त थापा मगरले दिएको बयान बारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतवाट अनुमति लिएर डा. श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख मोहन थापाले वताए ।
डाक्टरको अनुमतिमा मात्रै बिक्री हुने गरेको यो औषधी लागु औषध प्रयोगकर्ताले सेवन गरेको पाइएपछि सरकारले गत जेठमा प्रतिबन्ध लगाएको थियो।
सरकारले प्रतिबन्ध लगाएपछि कास्की प्रहरीले उक्त औषधी बिक्री वितरण गर्नेको निगरानी बढाएको थियो। त्यही क्रममा यसअघि अरुलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।