२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

फ्लाई दुबईको नियमित उडान पोखरामा, ११३ यात्रुसहित पहिलो जहाज अवतरण

फ्लाई दुबईको नियमित उडान पोखरामा, ११३ यात्रुसहित पहिलो जहाज अवतरण

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • पोखरा - पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि नियमित व्यावसायिक अन्तरराष्ट्रिय उडान सुरु गरेको छ। दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे ११३ यात्रुसहित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

    पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पहिलो उडानबाट आएको जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो। यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिहरू विमानस्थलमा उपस्थित थिए।

    नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे १५३ यात्रु लिएर दुबईका लागि प्रस्थान गर्ने महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो।

    यसअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट केही वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गरे पनि ती उडान नियमित हुन सकेका थिएनन्। फ्लाई दुबईको नियमित उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना सिर्जना गरेको विमानस्थल व्यवस्थापनको भनाइ छ।

    दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायत विभिन्न अन्तरराष्ट्रिय गन्तव्यमा जाने यात्रुलाई पोखराबाटै हवाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। यसबाट यात्राको समय तथा खर्चसमेत घट्न सक्ने बताइएको छ।

    त्यस्तै, पोखरा पर्यटकीय राजधानी भएकाले विदेशी पर्यटकलाई सिधै पोखरा आउनसमेत सहज हुने पर्यटन क्षेत्रका सरोकारवालाको अपेक्षा छ। वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि अरब मुलुक र अन्य अन्तरराष्ट्रिय गन्तव्यमा जाने यात्रुलाई पनि यो उडान उपयोगी हुने देखिएको छ।

    सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने नीति लिएपछि फ्लाई दुबईले नियमित उडान सुरु गरेको हो।

    दुबई–पोखरा–दुबई उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो।

    अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले विमानस्थलका विभिन्न शुल्कमा छुटसमेत दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।

    फ्लाई दुबईको निर्धारित तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ।

    दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हबमध्ये एक भएकाले पोखराबाट सीधा दुबई उडान सुरु भएपछि पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालसँग थप जोडिएको छ। फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ।

    फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई सेवा सञ्चालन हुने बताइएको छ। यसअन्तर्गत पोखराबाट अष्ट्रेलिया, युरोप तथा अमेरिकाका विभिन्न सहरमा जाने यात्रुले एउटै टिकटमार्फत दुबई हुँदै गन्तव्यसम्म यात्रा गर्न सक्ने व्यवस्था रहनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend