चितवन- अविरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि पोखरा–नारायणगढतर्फ जाने तथा आउने सवारीसाधन सञ्चालनमा आएका हुन्।
सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार पहिरो हटाएपछि दिउँसो १२ः१५ बजेदेखि सडक सञ्चालनमा आएको हो।
सडक सञ्चालनमा आएसँगै पोखराबाट नारायणगढतर्फ र नारायणगढबाट पोखरातर्फ जाने यात्रुवाहक तथा ढुवानीका साधन गन्तव्यतर्फ अघि बढिरहेका छन्।
तर, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर यातायात प्रभावित भएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडकको छेउसमेत भासिएको छ। बेनिघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ।
त्यस्तै, कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। ज्यामिरेघाट–चौकीभीर क्षेत्रमा ढुङ्गा र लेदोसहितको पहिरो खसेका कारण सडक अवरुद्ध छ।
हुग्दीखोलादेखि जवाङखोलासम्म विभिन्न स्थानमा ढुङ्गासहितका साना पहिरो खसेका छन्। फिस्लिङ आसपासका तीन स्थानमा करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ।
यसैगरी चुम्लिङटारमा ढुङ्गासहितको पहिरो, धारापानीका दुई स्थानमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको जनाइएको छ। सो क्षेत्रमा कल्भर्ट खुलाउने कामसमेत भइरहेको छ।
घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
इञ्जिनियर मिश्रका अनुसार पहिरो प्रभावित सबै स्थानमा सडक खुलाउने काम भइरहेको छ। ठूलो पहिरो थप नखसेमा साँझसम्म अधिकांश स्थानमा सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ। सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत पहिरो पन्छाउने काममा प्रयोग भइरहेका छन्।
वर्षा निरन्तर भइरहेकाले नारायणगढ–मुग्लिन तथा मलेखु–मुग्लिन सडक हुँदै यात्रा गर्ने यात्रुलाई सडकको अवस्था बुझेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।