पोखरा – कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ठूलो क्षति भएको छ। बाढीले उक्त बस्तीका २५ घर बगाएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। करिब ८० घर रहेको फर्से बस्तीमा २५ घर बाढीले बगाएको र बाँकी घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।
घटनामा हालसम्म मानवीय क्षति भने भएको छैन। बाढीको जोखिम बढेपछि समयमै सतर्कता अपनाएर बस्तीका सबै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, बाटोमा पहिरो गएको कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन। घटनास्थल पर्वतस्थित प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
कालीगण्डकी नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले आसपासका बस्तीमा थप जोखिम हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।