२०८३, आश्विन ११ गते

समय लोड हुँदैछ...

अविरल वर्षा र बाढीले करिब एक हजार मेगावाट विद्युत् उत्पादन प्रभावित

अविरल वर्षा र बाढीले करिब एक हजार मेगावाट विद्युत् उत्पादन प्रभावित

आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं - देशभर परेको अविरल वर्षा र आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगेको छ। बाढी र नदीमा आएको अत्यधिक बहावका कारण देशभर करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गर्ने १३ वटा उत्पादन केन्द्रबाट करिब ३७० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

    त्यस्तै, म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँ जिल्लामा रहेका थप १४ वटा विद्युत् उत्पादन केन्द्र नदीमा आएको अत्यधिक बहावका कारण बन्द भएका छन्। ती आयोजनाबाट करिब ६३० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।

    प्रसारण लाइनमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् केन्द्र बन्द हुँदा समग्रमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको हो।

    उद्योगको विद्युत् खपत घटाएर आपूर्ति व्यवस्थापन

    उत्पादनमा आएको ठूलो गिरावटपछि विद्युत् आपूर्ति प्रणाली सन्तुलनमा राख्न केही उद्योगहरूको विद्युत् खपत घटाएर व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ। बाढीका कारण कतिपय क्षेत्रमा विद्युत् आपूर्तिमा समेत असहज अवस्था सिर्जना भएको छ।

    यसैबीच, प्राधिकरणको सहायक कम्पनी रघुगंगा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् केन्द्रको स्वीचयार्डमा समेत क्षति पुगेको छ। कालीगण्डकी नदीमा आएको बाढीले स्वीचयार्ड क्षेत्रमा कटान गरी क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ।

    बाढी तथा पहिरोका कारण अन्य विभिन्न स्थानमा पुगेको क्षतिको विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ। प्रभावित प्रसारण तथा उत्पादन संरचनाको क्षति मूल्यांकनसँगै मर्मत तथा पुनः सञ्चालनको काम अघि बढाइने बताइएको छ।

     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend