२०८३, आश्विन ११ गते

समय लोड हुँदैछ...

म्याग्दीमा कालीगण्डकीको बाढीले बेनी बजारतर्फ कटान, बस्ती जोखिममा

म्याग्दीमा कालीगण्डकीको बाढीले बेनी बजारतर्फ कटान, बस्ती जोखिममा

आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • म्याग्दी – कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारतर्फ कटान गर्न थालेपछि बस्ती जोखिममा परेको छ। पछिल्लो तीन दिनदेखि निरन्तर वर्षा भइरहेका कारण नदीमा पानीको सतह बढेपछि आइतबार बिहानदेखि बाढीले बेनी बजारतर्फ कटान सुरु गरेको हो।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार बेनी–७ गणेशटोल पछाडि कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की तटबन्ध बाढीले भत्काएपछि बस्तीको भूभागतर्फ कटान भइरहेको छ। करिब १०० मिटर तटबन्ध भत्किएको र तटबन्धसँगै कुनातर्फ निर्माण गरिएको सडकसमेत बाढीले क्षति पुर्‍याएको छ।

    कटान बढ्दै गएपछि जोखिममा रहेका घरका बासिन्दा तथा घरभित्रका सामानलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। कालीपुल क्षेत्रका केही बासिन्दा राति नै म्याग्दी बहुमुखी क्याम्पसको भवनमा आश्रय लिन पुगेका छन्।

    उक्त क्षेत्रमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको तटबन्ध निर्माण गरिएको थियो भने सघन सहरी विकास आयोजनाले बेनी चक्रपथ सडक निर्माण गरेको थियो। बाढीले तटबन्ध र सडकमा क्षति पुर्‍याएपछि थप क्षति हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन्।

    बेनी–७ र ८ मा पर्ने बेनी बजारमा ५०० भन्दा बढी परिवारको बसोबास रहेको छ। बेनीमा म्याग्दी र कालीगण्डकी नदीको दोभान क्षेत्रमा नदीको सतह खतराको तह पार गरेको बताइएको छ।

    बाढी र पहिरोका कारण बेनीबाट प्रदेश राजधानी पोखरा तथा सङ्घीय राजधानी काठमाडौं जोड्ने मालढुङ्गा–बेनी सडकसमेत अवरुद्ध भएको छ। शनिबार रातिदेखि बेनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहेको छ भने खानेपानी आपूर्तिसमेत प्रभावित भएको छ।

    त्यसैगरी बेनीबाट जिल्लाका ग्रामीण क्षेत्र जोड्ने विभिन्न सडकसमेत अवरुद्ध भएका छन्। निरन्तर वर्षा भइरहेकाले नदीको जलस्तर थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन तथा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend