बागलुङ-मध्यपहाडी लोकमार्ग अन्र्तगतको भूंखानीमा सरकारी नम्वर प्लेटको जीप दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । घटनास्थलमा एक पुरुष गम्भिर घाईते अवस्थामा फेला परेका छन ।
बागलुङको गलकोट नगरपालिका २ नरेठाँटीस्थित भूंखानीमा दुर्घटनाग्रस्त जीपलाई शुक्रवार विहान घाँस काटन गएका स्थानीयबासीले देखेर प्रहरीलाई खवर गरेका थिए । दुर्घटना कतिखेर ? के कारणले भएको हो ? नखुलेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । घाईते पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाईएको छ ।
जीप सडकदेखि झण्डै सात सय मिटर तल खसेकोले अन्य यात्रुहरु समेत हुनसक्ने आशंकमा घटनास्थल वरपर खोजतलास शुरु गरिएको बागलुङका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए । जीप दुर्घटना स्थलमा रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा मगरको परिचय पत्र भेटिएको छ । घटनास्थल पुगेको प्रह्रीले खोजतलासका क्रममा उहाँको परिचयपत्र फेला परेको हो । “परिचय पत्र भेटिएका छन् तर सनाखत भएको छैन्” प्रहरी नायव उपरीक्षक बिजय यादवले भने “सरकारी प्लेटको बुलेरोमा तीन जना मृत र एक जना बोल्न नसक्ने घाईते हुनुहुन्छ ।”
स्थानीय दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घटनाग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।