लमजुङ-अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।
थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनासहित आएका पर्यटक पदमार्गमा जोखिम बढेपछि मनाङबाटै फर्किन थालेका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार असोज ६ देखि १२ गतेसम्म २४६ विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन्। फर्किनेमा १५१ पुरुष र ९५ महिला छन्।
केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० जनासम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए। अहिले भने मौसम प्रतिकूल बनेपछि पर्यटकको आवागमन उल्लेख्य रूपमा घटेको छ। हाल दैनिक एक–दुई जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांश फर्किन थालेका छन्।
“केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए। अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन्”, इन्चार्ज गुरुङले भन्नुभयो।
निरन्तरको वर्षा, खराब मौसम र पदमार्गमा बढेको जोखिमका कारण थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङलगायत गन्तव्यमा जाने योजनामा रहेका पर्यटकले बीच बाटोबाटै यात्रा छोट्याउन थालेका हुन्।
लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै जाने नेपालको प्रमुख पदयात्रा मार्ग हो। यस पदमार्गको सबैभन्दा उच्च बिन्दु ५ हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ हो।
प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण अन्नपूर्ण चक्रीय पदमार्गमा वर्षेनी ठूलो सङ्ख्यामा विदेशी पर्यटक पदयात्राका लागि आउने गरेका छन्। पछिल्लो मौसम प्रतिकूलताले भने यस क्षेत्रको पदयात्रा गतिविधिमा प्रत्यक्ष प्रभाव पारेको छ।