काठमाडौं -नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहको मिति दुई दिनपछि सारेको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने जानकारी दिनुभएको छ ।
यसअघि कांग्रेसको महाधिवेशन उद्घाटन समारोह असोज १६ गते हुने तय गरिएको थियो ।
भारी वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ ।
ती अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गर्न समय लाग्ने अवस्थालाई मध्यनजर गर्दै उद्घाटन समारोहको मिति सारिएको पार्टीले जनाएको छ ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने भएको छ ।