पोखरा-बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको सनाखत भएको छ । जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उतरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा र उनकी ६१ बर्षिया आमा गोपीमाया र वडा नं २ का अध्यक्ष ४० बर्षिय जसबहादुर श्रीपालीको मृत्यु भएको हो ।
ुपृथा उतरगंगा गाउँपालिकाको जीप दुर्घटनामा चालक भूमे गाउँपालिका ३ का प्रेम पुन घाइते भएका छन्। काठमाडौंबाट फर्कदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो।
उपाध्यक्ष बुढा गत भदौ १८ गते आमालाई लिएर उपचारका लागि काठमाडौं गएकी थिइन्। आफ्नो दाँतको उपचार गराउन जाँदा आमाको पनि स्वास्थ्य परीक्षण गर्न बुढा गएकी थिईन ।
वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा भदौ १९ गते काठमाडौं गएका थिए। वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए। तर वडा नम्बर २ का अध्यक्ष श्रीपाली भने उपाध्यक्ष बुढासँगै जिपमा फर्कदै थिए।
उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई निर्वाचित भएका थिए।
जिप दुर्घटनाका घाइते चालक प्रेमको पनि अवस्था गम्भीर रहेको छ। उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ।
शुक्रबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा उनीहरू सवार जिप दुर्घटनामा परेको थियो। बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ को भुखानीमा रा १ झ २०० नम्बरको सरकारी जिप दुर्घटनामा परेको थियो। चालक निदाएका कारण जिप दुर्घटनामा परेको हुन सक्ने अनुमान छ।