कञ्चनपुर - भीषण बर्षासँगै महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी, भीमदत्त र पुनर्वास नगरपालिकामा आधा दर्जन बस्तीका 2 सय बढि परिवार विस्थापित भएका छन । पुनर्वास नगरपालिकामा दोदा नदीको बाढी बस्तीमा पस्दा ४५ परिवार, महाकालीको बाढीले भुजेला खोलाको पानी रोकिँदा भीमदत्त नगरपालिका–११, १२ र १३ मा ३० परिवार विस्थापित भएका छन् ।
महाकालीकै बाढीले जोगबुडा नदीको बहाव रोकेपछि दोधारा चाँदनी नगरपालिका–१० का कुतियाकभर, शान्ति टोल, निशानी टोल, बैदी फाँटा, वडा ८ का सुन्दरनगर र वडा ३ को पटेरा खल्लाका गरी करिब ६० परिवार विस्थापित भएका छन् ।लगातारको अबिरल बर्षासँगै महाकालीमा नदीमा आएको बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका बस्तीहरु डुबानमा परेका छन ।भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवार भन्दा बढी बाढीले बिस्थापित भएका छन ।बिस्थापितहरु बन्दोबस्तीका सामान र गाइबस्तुसहित १२ नम्बर वडा कार्यालय र महाकाली किनाराको सडक छेउमा बस्न बाध्य छन ।प्रहरीका अनुसार शुक्रबार दिउँसो ४ बजेको मापन अनुसार महाकालीमा पानीको वहाव ४ लाख ६१ हजार क्यूसेक पुगेको छ । जुन तीन वर्षयताकै उच्च हो ।
२०७८ मा महाकालीमा हालसम्मकै उच्च ५ लाख ४७ हजार क्यूसेक बहाव पुगेको थियो । शुक्रबार साँझसम्म बहाव बढ्ने क्रममा रहेकाले अझै जोखिम हुन सक्ने देखिन्छ ।
महाकालीमा बाढीको सतह खतरा तह पार गरेका कारण नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नेदेखि सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । ‘महाकालीको जलस्तर बढ्ने क्रम जारी छ, अझै बढ्दै गएमा जोखिम हुन सक्छ,’ उनले भने, ‘तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छौं ।’
असार अन्तिम साता आएको बाढीले जिल्लामा ५ सय बढी परिवार विस्थापित भएका थिए । दोधारा चाँदनी नगरपालिका ३ पटेरा खल्लका बासिन्दा राम्ररी पुर्नस्थापित हुन नपाउँदै फेरि विस्थापित भएका छन् । जोगबुडा नदी किनारमै रहेको उक्त बस्तीलाई अन्यत्रै सार्ने विषयमा पनि छलफल भइरहेको नगर प्रमुख किशोरकुमार लिम्बुले बताए । बाढीले खाद्यान्न बन्दोबस्तीका सामानदेखि कतिपय घरमा क्षति पुर्याएको भन्दै सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्ने विस्थापितहरुको माग छ।बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतका बिभिन्न निकायहरुबाट उद्धारको काम भैरहेको छ ।