काठमाडौँ-माओवादी अवरोधका कारण आईतवार बस्ने भनिएको प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसद योगेश भट्टराईले बोलेको माओवादी हिंसा शब्द संसदको रेकर्डवाट हटाउनुपर्ने माग राख्दै माओवादीले गत २६ गतेदेखि संसद अबरुद्ध गर्दै आएको हो । संसद्मा दर्ज भएको ‘माओवादी हिंसा’ रेकर्डबाट हटाउनुपर्ने माओवादी केन्द्रको मागमा दलहरु बीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक प्रभावित हुन पुगेको हो।
एमाले सचिव योगेश भट्टराईले भदौ १२ गते संसद्मा बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले घोषणा गरेपछि माओवादीले विरोध जनाउदै आएको छ ।
दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँस गरि सवा तीन बजेका लागि सारिएको थियो ।
सवा तीन बजे बस्ने भनिएको बैठक भोलि १ बजे बस्ने गरी स्थगित गरिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
यसअघि सहमति जुटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट माओवादी हिंसा भन्ने शब्द नहटेसम्म बैठक चल्न नदिने बताए ।