रामेछाप- मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जीप दुर्घटना हुँदा स्थानीय ६० वर्षीया पद्ममाया नेपाली र ६९ वर्षीय दिलिप कुमार वरुवालको मृत्यु भएको छ । डवल क्याप वलेरो आइतवार दिउँसो सुनारपानीको भदौरे मोडमा दुर्घटना हुँदा मन्थलीनगरपालिका वडा नं ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्नास्थलमै मृत्यु भएको थियो । उनी मन्थली नगरपालिका वडा नं-४ कि दलित महिला वडा सदस्य समेत हुन् । धुलिखेल अस्पताल लगिएका ६९ वर्षीय दिलिप कुमार वरुवालको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा दिउँसो १ बजेतिर सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जानकारी दिए । दुर्घटनामा घाईते भएका स्थानीय ४२ वर्षीय जीप चालक गुनकुमार थापामगरलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् । सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।