२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भीषण बर्षाले भारी क्षति

देशभर १ सय १२ बढिको मृत्यु, कम्तिमा ६८ वेपत्ता

देशभर १ सय १२ बढिको मृत्यु, कम्तिमा ६८ वेपत्ता

बाढि र पहिरोले सडक, पुल, विद्युत, घरबस्ती लगायतका भौतिक पूर्वाधारमा क्षति गरेका कारण जनजीवन अस्तव्यस्त र प्रभावित बन्न पुगेको छ ।

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं- भीषण बर्षासँगैको बाढीपहिरो र डुबानले देशभर शनिबार रातिसम्म १ सय १२ जनाको मृत्यु भएको छ । प्रकोपमा परेर कम्तिमा ६८ जना बेपत्ता भएका छन । सबै ठाउँमा गरेर १ सय जना भन्दा बढि घाइते भएका छन् । बाढि र पहिरोले सडक, पुल, विद्युत, घरबस्ती लगायतका भौतिक पूर्वाधारमा क्षति गरेका कारण जनजीवन अस्तव्यस्त र प्रभावित बन्न पुगेको छ ।  गायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ । 
    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शनिबार राति ११ बजेस दिएको जानकारी अनुसार प्रकोपमा परेर काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५र५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ ।
    यस्तै धनकुटा र सोलुखुम्बुमा २र२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १र१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन् । काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन् ।
    गृह मन्त्रालयको अभिलेखमा भने बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ९९ मात्र छ । ‘फिल्डबाट तथ्यांक आउने क्रम जारी रहेकाले विवरण अद्यावधिक भइरहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने । उनका अनुसार विपतमा फसेका २ हजार २३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।
    धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जना र मकवानपुरको सिस्नेरीमा पुरिएर मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ । बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्र झ्याप्लेखोलामा पहिरोमा पुरिएको थियो ।
    सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ ।
    नदी, खोला, खोल्सा र खहरेमा आएको बाढीले तटीय क्षेत्र तथा नजिकैका बस्तीमा जनधन क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कम्तीमा १ सय ९५ घरमा क्षति पुगेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांक छ । मनसुनजन्य प्रकोपबाट बिहीबारयता ६४ स्थानमा सडकखण्ड अवरुद्ध बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी र पाँचथरको हेवाखोलाको बेलिब्रिज बगेका छन् । उदयपुर र खोटाङ जोड्ने खोक्सिङटार तथा रामेछाप र सिन्धुली जोड्ने खुर्कोट नजिकै मोटरेबल पुल पनि बगेका छन् । पहिरोका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग सबैमा यातायात सेवा अवरुद्ध छ ।

    बाढीपहिरोबाट आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । केही प्रसारणलाइनमा समेत क्षति पुग्दा १३ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बन्द भएका छन् ।काठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा परेका छन् । वाग्मती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए । काठमाडौंको फर्पिङमा एउटा पक्की घर भत्किएर ५ जना र स्वयम्भू नजिकै इचंगुनारायणमा पनि घरभित्रै पुरिएर ३ जनाको ज्यान गएको छ ।

    नक्खु खोलाले तटीय क्षेत्रमा टहरा बगाउँदा २ जना बेपत्ता छन् । टहराबाट बगेका अरू ३ जनाको भने उद्धार गरिएको छ । नख्खु खोलामा बाढी आएपछि शनिबार बिहानै छानामा निस्केर उनीहरूले उद्धारका लागि हारगुहार गरेका थिए तर बेलैमा उद्धार हुन सकेन । काभ्रेका चणिकलाल तामाङले ज्यानको परवाह नगरी उर्लिएको भेलमा पसेर ६ वर्षीया मेघना साह र २२ वर्षीय राज साहको उद्धार गरेका थिए । मेघनाका बुवा राजु साहले भने पौडिएर ज्यान जोगाएका छन् । उद्धार हुन नसक्दा बालिका सेतु साह र उनकै आफन्त नन्दु साह भेलमै हराएका छन् । ‘उनीहरूको अवस्था अज्ञात छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले भने । नख्खु खोलाले घेरेपछि टहरामा फसेकालाई उद्धार गर्न रबर बोटसहित गएका सशस्त्रका ११ जनालाई पनि भेलले बगाएको थियो । उनीहरू पौडिएर बाँचेका थिए ।

    प्राकृतिक प्रकोपमा जुध्न पर्याप्त स्रोतरसाधन नहुँदा कतिपयलाई उद्धार गर्न नसकिएको खोज तथा उद्धारमा खटिएका एक सुरक्षा अधिकारीले बताए । ‘प्रकोप अकस्मात् निम्तिएको होइन, हरेक वर्ष यस्तो घटना दोहोरिरहन्छ । त्यससँग जुध्न चाहिने बन्दोबस्तीको जोहो हुन सकेको छैन,’ ती अधिकारीले भने, ‘नदीको भेलमा फसेकाले मलाई बचाऊ भन्दा पनि हामी निरीह हुनुपर्ने स्थिति आयो, योभन्दा विडम्बना अरू के हुन सक्छ र ?’

    गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा शनिबार केन्द्रीय सुरक्षा समितिको आपत्कालीन बैठक बसी खोज, उद्धार र राहत कार्य प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकारी संयन्त्रलाई निर्देशन दिइएको थियो । विपद्पछिको खोज तथा उद्धारमा सशस्त्र प्रहरीले मात्रै कम्तीमा ११ हजार जना परिचालन गराएको प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । नेपाल प्रहरीले भने कार्यालय सुरक्षा, अपराध अनुसन्धान र अरू विशेष परिस्थितिमा खटिएकाबाहेक सबै युनिटबाट खोज तथा उद्धारमा परिचालन गरेको प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend