नुवाकोट –काठमाडौंवाट पोखरातर्फ जाँदै गरेको माईक्रोवस नुवाकोटमा दुर्घटनाग्रस्त हुँदा मौवाको रुखले रोकेको कारण ठुलो संकट टरेको छ । छहरे–टोखा सडक खण्डअन्तर्गत शिवपुरी गाँउपालिका–७ मा ठुलो भीरवाट खस्दै गरेको बस करिव ५० मिटर तलको मौवाको रुखमा अडकिएकोले ठुलो क्षति हुन पाएको थिएन ।
माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
उनका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं। माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । दुर्घटना लगत्तै स्थानीयवासी तथा प्रहरीले घाइतेको उद्धार गरेका थिए ।