धादिङ-पृथ्वीराजमार्गको मलेखुनजिकैको पहरेघाट खण्डमा सुक्खा पहिरो जाँदा फेरि यातायात अवरुद्ध हुन पुगेको छ । भीषण बर्षाले ठाउँ ठाउँमा पहिरो झरेका कारण गत शुक्रवारदेखि राजमार्गमा थुनिएका सवारी साधन सोमबार साँझ८ बजेदेखि फेरि रोकिन पुगेका छन ।
पहरेघाटको पहिरो ठुलो भएकोले निर्माणाधीन सडक आयोजनाको मेसिन ल्याएर पन्छाउने काम शुरु गरिएको र सडक सफा गर्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।
पहिरो ठुलो र निरन्तर झरिरहेकाले पन्छाएर सवारीसाधन सञ्चालन हुन केही समय लाग्ने जनाइएको छ । दिनभर काठमाडौँ प्रवेश गर्ने क्रममा रोकिएर बसेका सवारीलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको भएपनि साँझबाट उपत्यकाबाट बाहिरिने सवारीलाई यो सडक खण्ड प्रयोग गर्न दिइएको थियो ।पहिरो पन्छ्याउने प्रयास भइरहे पनि आज राति नै पन्छ्याउन नसकिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङ प्रहरीले सबै सवारी चालकलाई आआफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरेर राख्न आग्रह गरेको छ ।