२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

धौलागिरि आरोहणकोक्रममा वेपत्ता पाँच रुसी मृत फेला

धौलागिरि आरोहणकोक्रममा वेपत्ता पाँच रुसी मृत फेला

मंगलवार, आश्विन २२ २०८१
मंगलवार, आश्विन २२ २०८१
  • म्याग्दी — धौलागिरि प्रथम हिमाल आरोहणका क्रममा दुई दिनदेखि सम्पर्कविहिन पाँचै जना रूसी मृत अवस्थामा फेला परेका छन् । असोज २० गते राति ११ बजे धौलागिरि हिमालको ‘समिट पुस’का लागि अलेक्जान्डर डसीको नेतृत्वमा गएका ओलेक क्रुग्लोभ, सिस्टकोभ भाल्दिमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोज दिमित्री ८ हजार मिटर माथिबाट हराइरहेका थिए ।
    हराइरहेका आरोहीहरूको खोजीमा गएको उद्धारकर्ताले पाँचै जनाको शव मंगलबार फेला पारेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पर्यटन विभागका अनुसार २०८९ भदौ १९ गते रसियाको प्रख्यात आरोहीहरुको टोलीलाई ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी १ हिमाल आरोहणका लागि अनुमति दिएको थियो । विभागका अनुसार रूसी टोली नेता अलेक्जान्डर डसीका नेतृत्वमा १४ जनाको टोलीलाई हिमाल आरोहण गर्ने अनुमति दिइएको थियो । आरोहणको व्यवस्थापन भने आईएम ट्रेकिङ एण्ड एक्सपिडिसनले गरिरहेको थियो ।
    जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले दिएको जानकारी असोज २० गते राती आरोहीहरूसँग अन्तिम सम्पर्क भएको थियो । ‘राति ११ बजे ८ हजार मिटरको उचाईमा पुग्दासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको जानकारी प्रहरीलाई दिइएको थियो,’ उनले भने, ‘उनीहरुको शव मंगलबार फेला परेको छ । ५ जना नै रूसी आरोही रहेको पुष्टि भएको छ । हेलिकप्टरबाट उद्धार गर्ने खबर आएको छ ।’
    पर्यटन विभागले जारी गरेको बुलेटिन अनुसार रूसी टोलीले दुई समूहमा विभाजित भएर आरोहण गर्ने योजना बनाएको थियो । स्वास्थ्य खराब भएपछि ६ जना आरोहणी फर्किएका थिए । आरोहण व्यवस्थापन गर्ने एजेन्सी र सम्पर्क अधिकृतका अनुसार दुई आरोही डेनिस एलेक्सेन्को र आर्टस्योम तेसेन्त्सेभित्स्की भने आरोहण सम्पन्न गरी बेस क्याम्पमा फर्किसकेका छन् । ‘उनीहरु त्यहाँ सकुशल रहेको र सम्भवतः १–२ दिनमा तल झर्ने योजनामा रहेका छन्,’ विभागको बुलेटिनमा भनिएको छ । विभागका अनुसार बाँकी एक जना सिपिलेभोइ भने टोलीबाट छुट्टिएका थिए । उनलाई मंगलबार नै क्याम्प १ बाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।
    खराम मौसमका कारण दुर्घट्नामा परेका रूसी टोलीले बेस क्याम्पसम्म मात्रै शेर्पाको साहयता लिएको र बिना अक्सिजन नै समिट गर्ने गरि अगाडि बढेको बताइएको छ । बाँकी ६ जना भने असोज २० गते समिट पुसमा गएको र ती मध्येका एक भ्यालेरी सिपिलेभोइको स्वास्थ्यमा समस्या आएका कारणले उनी बीच बाटोबाटै फर्किएका थिए । ‘केही समयपछि उनले माथि रहेका ५ जनालाई तल फर्कन अनुरोध गरेको बताएका छन् । उनीहरुले ८ हजार मिटरको नजिक पुगेकोले समिट प्लान नछाडेको तर केही समयपछि रेडियो सेटमा सबैजनाले आरोहण परित्याग गरी तल झर्दै गरेको बताएका थिए,’ पर्यटन विभागले भनेको छ । सम्पर्क अधिकृत र एजेन्सीले २० गते रातिबाट ५ जना आरोही सम्पर्कविहिन भएको जानकारी विभागलाई गराएसँगै उनीहरूको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको थियो । मौसमको प्रतिकुलताका कारण असोज २१ मा हेलिकोप्टर सो क्षेत्रमा जान नसकेको बताएको छ । यस्तै असोज २२ गते बिहानै हेली उडेर सो क्षेत्रमा गएर हेर्दा करिब ७६०० मिटरको उचाइमा ५ जना लडिरहेको देखिएको थियो ।
    रूसी आरोहीहरु आरोहण व्यवस्थापन गरिरहेको आईएम ट्रेकिङ एण्ड एक्सपिडिसनका प्रमुख कार्यकारी अधिकृत पेम्बा ज्याङ्बु शेर्पाले कम्पनीको फेसबुक पेजमा धौलागिरिमा ज्यान गुमाएका आरोही अलेक्जान्डर डसीकोले असोज १२ गते खिचेको पोस्ट गरेका छन् । जसमा धौलागिरि बेस क्याम्प क्षेत्रमा भारी हिमपात भएको र क्याम्पमा पनि असर पुर्‍याएको देखिन्छ । यो सिजनको सुरुवाती चरणमै धौलागिरि आरोहणमा खराब मौसम बाधक बनेको छ ।
    यो वर्ष धौलागिरि आरोहण गर्न १४ जना पुरुष आरोहीहरुले अनुमति लिएका छन् । पर्यटन विभागले पछिल्लो पटक १६ सेप्टेम्बर (३१ भदौ ०८१)मा जारी गरेको ‘अटम सिजन’को पर्वतारोहण अनुमतिबाट प्राप्त आरोहण रोयल्टीसम्बन्धी विवरणअनुसार धौलागिरि प्रथम हिमाल आरोहण गर्न १४ जनाले आरोहण अनुमति लिएका हुन् ।
    पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु याम (सेप्टेम्बर, अक्टुबर र नोभेम्बर)का लागी नेपालका १० वटा हिमाल आरोहण गर्न ५४ देशका ८८ जना महिला र २ सय ७४ पुरुषले अनुमति पाएका छन । आरोहण अनुमति पाएका मध्य सवैभन्दा बढी मनास्लु हिमालमा २८ टिमबाट ८२ जना महिला र २ सय २६ पुरुषले आरोहण अनुमति पाएका छन । चालु सिजनमा मनास्लु पछि धेरै पर्वतारोहीको रोजाइमा परेको हिमाल धौलागिरी बनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend