२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

किशोरीको हत्या आरोपमा भण्डारी पक्राउ

किशोरीको हत्या आरोपमा भण्डारी पक्राउ

आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • डडेल्धुरा - डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन्। शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

    डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरेका छन्। घटनास्थल नजिकै भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ। पसलभित्र आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्,' श्रेष्ठले भने। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको जिकिर गर्दै आएका छन्। 

    डीएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिल्यै केही भन्न नसकिने बताए। 'जबरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्छ, तर त्यो अहिले नै केही खुलेको छैन,' जिल्ला प्रहरी प्रमुख श्रेष्ठले भने। 

    १४ वर्षीया किशोरी भट्टराई २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिलका लागि हिँडेकी थिइन्। 'भण्डारीसँग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि थियो,’ डीएसपी श्रेष्ठले भने, ‘पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन्। हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको स्वीकार गरेका छन्।'

    त्यसपछि भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारी फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ। ‘मदिरा सेवन गरेर पोखरा फर्किएका उनले पसल अगाडि राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेको देखिन्छ,’ डीएसपी श्रेष्ठले भने, ‘शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। शव भने बजार छेउमै फालेर घर गएका रहेछन्।' उक्त ठाउँमा मृत किशोरी फेला परेको भन्दै प्रहरीलाई ११ बजे खबर भएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend