नवलपरासी-नवलपरासीमा ट्रकले ठक्कर दिँदा मोटरसाईकलमा सवार प्रहरी हबलदार चुडामणि भट्टराईको मृत्यु भएको छ। नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १५ सुक्रौलीस्थित हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको ना ५ ख २२५५ नम्बरको ट्रकले सोही दिशातर्फबाट आउँदै गरेको भटराई चढेको लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले नवलपरासीकै सुनवल १३ घ्युडल्ला घर भएका भट्टराई दसैँ मान्न घर आएको बेला उनी दुर्घटनामा परेका बताए । उनी इलाका प्रहरी कार्यालय थवाङ रोल्पामा कार्यरत थिए।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ३९ बर्षिय भट्टराईलाई उपचारको लागि प्रहरीले गाडीमा राखेर जिल्ला अस्पताल परासीमा लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले केहीसमय रामग्राम नगरपालिका १५ सुक्रौलीमा हुलाकी सडक खण्ड अवरुद्ध गरेका थिए।
दुर्घटनापछि ट्रक चालकलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए। प्रहरी हबलदार भट्टराईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ।